काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले आफ्नो २१औँ स्थापना दिवसको अवसरमा उपभोक्ता अधिकार, बजारमा देखिएको महँगी तथा आपूर्ति व्यवस्थालगायतका विषयमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ।
बुधबार काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा पछिल्लो समय बजारमा देखिएको ग्यासको अभाव, चिनी, चामललगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, चाडपर्व नजिकिँदै गर्दा बढ्न सक्ने कालोबजारी तथा महँगी नियन्त्रणका विषयमा छलफल भइरहेको छ।
कार्यक्रममा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र त्यसले पारेको प्रभावका कारण यस वर्ष स्थापना दिवसलाई विगतमा जस्तो भव्य रूपमा नमनाइएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए।
उनका अनुसार भोटेकोशी बाढीको प्रभाव, चाडपर्वको समयमा बजारमा हुन सक्ने महँगी, आपूर्ति व्यवस्थामा सहजता तथा उपभोक्तासँग सम्बन्धित विषयमा सरोकारवालाबीच छलफल आवश्यक भएकाले अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो।
“विगतमा फरक तरिकाले स्थापना दिवस मनाउने गरिए पनि यसपटक रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र त्यसले पारेको प्रभावका कारण स्थापना दिवस भव्य रूपमा मनाइएन। भोटेकोशीको बाढीले पारेको प्रभाव, दशैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा बढेको महँगी तथा आपूर्तिमा सहजतालगायतका विषयमा छलफल गर्दा आम उपभोक्ता, व्यवसायी र सरकार सबैलाई फाइदा पुग्ने भएकाले स्थापना दिवसको अवसरमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो,” अध्यक्ष महर्जनले भने।

कार्यक्रममा चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने र त्यससँगै मूल्यवृद्धि तथा कालोबजारी हुन सक्ने विषयमा समेत छलफल भइरहेको छ। ग्यासको अभाव, चिनी, चामललगायत खाद्यवस्तुको मूल्यवृद्धि तथा बजार अनुगमन र कालोबजारी नियन्त्रणमा सरकारको भूमिकाका विषयमा सहभागीहरूले धारणा राखिरहेका छन्।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सदस्य प्रकाश सिंह कार्की, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोतीराम सापकोटा, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठ लगायत सहभागी छन्।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी निमित्त प्रमुख कार्यकारी अधिकृत निर्मला सुवेदी, नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दको पनि कार्यक्रममा उपस्थिति रहेको छ ।
कार्यक्रममा कर्पोरेट खबरका अध्यक्षसमेत रहेका काठमाडौं उद्योग संघका उपाध्यक्ष उज्ज्वल जङ्ग शाहसहित सञ्चारकर्मी, अधिकारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।