काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नुनको आपूर्ति, गुणस्तर र उपभोगसम्बन्धी विशेष अन्तर्क्रिया कार्यक्रम गरेको छ ।
‘आयोडिन मन्थ’को अवसरमा मञ्चले आज (मंगलबार) काठमाडौंमा विभिन्न क्षेत्रका सरोकारवालासहितको उपस्थितिमा आयोडिनयुक्त नुनको उपभोगसम्बन्धी सचेतनामूलक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो ।
प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानको प्रमुख आतिथ्यता र मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको सभापतित्वमा अनामनगरस्थित सिलौटा कटेजमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्ण, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल, साल्ट ट्रेडिङ कर्पोरेशनका नायब प्रमुख प्रशासकीय अधिकृत कुमार राजभण्डारी र स्वास्थ्य मन्त्रालयको बालपोषण शाखाका प्रमुख लिलाविक्रम थापालगायत सरोकारवालाहरूको उपस्थिति थियो । सो अवसरमा बालपोषण शाखा प्रमुख थापाले विषयविज्ञका रूपमा विषयवस्तुसम्बन्धी प्रस्तुतीकरण दिएका थिए ।
प्रस्तुतीकरणका विषयमा विभिन्न प्रश्न र जिज्ञासाका साथमा खुला छलफलसमेत गरिएको थियो । छलफलमा आम उपभोक्ताले दैनिक जीवनमा प्रयोग गर्ने नुन आयोडिनयुक्त हुनुपर्ने, दुई बालबालिका चिह्न अंकित प्याकेटको नुन प्रयोगबाट कुनै नकारात्मक असर नपर्ने तर सन्तुलित रूपमा प्रयोग गर्न सुझाव दिइयो । सन्तुलित रूपमा नुनको प्रयोग गर्दा स्वास्थ्यलाई कुनै हानि नहुने सरोकारवालाहरूले जानकारी दिए ।
आयोडिनको अभावले मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरलाई न्यूनीकरण गर्नका लागि नेपाल सरकारले नेपाली जनतालाई नुनमा आयोडिन मिसाइ खुवाउने काम सन् १९७३ देखि सुरू गरेको हो । नेपाल सरकारले आयोडिनयुक्त नुनको सही उपभोग सम्बन्धमा जनचेतना जगाउनका लागि सन् १९९८ देखि प्रत्येक वर्षको फेब्रुअरी महिनाभर ‘आयोडिन मन्थ’को रूपमा देशव्यापी रूपमा उपभोक्ता जागरण अभियानको रूपमा मनाउने गर्दछ ।
सरकारको उपभोक्ता जागरण अभियानको सफलताले ९० प्रतिशत घरमा आयोडिनयुक्त नूनको उपभोग भइरहेको तर अझै नेपालमा आयोडिनको कमीले हुने मानव स्वास्थ्य समस्याको सम्भावना बाँकी नै रहेको अवस्थामा आयोडिनयुक्त नुनको उपभोग सम्बन्धमा जनचेतना जगाउने काम निरन्तर चलाइरहनुपर्ने राष्ट्रिय उपभोक्ता मञ्चको धारणा छ ।
बजारमा चल्ने विभिन्न खाले हल्ला र चर्चा वा अन्य कारणले नेपाली जनताले उपभोग गर्ने आयोडिनयुक्त नुन सही तरिकाले गर्न नसकेको, भण्डारणमा समस्या रहेको जस्ता सचेतनाको अभाव रहँदै आएको छ । यस्ता विषयमा मञ्चले हरेक वर्ष सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आएको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जानकारी दिए ।
FACEBOOK COMMENTS