काठमाडौं । आज राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ । बिहान ११ बजे बस्ने बैठकका लागि चार वटा सम्भावित कार्यसूची रहेका छन् ।
अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।
गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् । सभाको अध्यक्षता गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी गराएका छन् ।
नेपाली कांग्रेसका शर्मा र माओवादी केन्द्रका दाहालले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
दाहालको प्रस्तावकमा माओवादीका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् । त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् ।
राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेका १०, एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् । विपक्षी गठबन्धनमा कांग्रेसका १६ र लोसपाका एक सांसद् रहेका छन् ।
तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आफ्नो ६ वर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाबाट अवकाश भएपछि नयाँ अध्यक्ष चयनका लागि लागि निर्वाचन हुन लागेको हो ।
FACEBOOK COMMENTS