काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले दसैँ, तिहार तथा छठलगायतका सार्वजनिक बिदामा पनि आफ्नो कार्यालयहरू खुला रहने जनाएको छ ।
आयोगले सार्वजनिक बिदाको दिन बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म उजुरी दर्ता लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न कार्यालय सञ्चालन हुने जानकारी दिएको हो ।
यस अन्तर्गत आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन ललितपुरसहित प्रदेश र शाखा कार्यालयहरू समेत खुला रहने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
मानव अधिकार उल्लङ्घनका घटना भएमा नजिकको कार्यालयमा तत्काल जानकारी दिन आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ ।
चाडपर्वका समयमा सार्वजनिक आवतजावतमा कठिनाइ, अपराधका घटना, महँगी र कालोबजारी बढ्ने सम्भावना रहने भएकाले यस अवधिमा शान्ति–सुरक्षा र सेवा प्रवाहलाई चुस्त बनाउन सरकारले
आवश्यक कदम चाल्नुपर्ने आयोगको भनाइ छ ।
आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलले शान्ति सुरक्षालाई मजबुत बनाउन र सेवा प्रवाह सहज बनाउन सबै सरोकारवालालाई सहयोग गर्न विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS