काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरी ८० हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरू गरेपछि नयाँ मतदाताको संख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र प्रयोग गरेर शुक्रबार राति ९:०० बजेसम्म ५० हजार २१७ पुरूष, ३० हजार २३५ महिला र चार अन्य गरी ८० हजार ४५६ नयाँ मतदाता थपिएका छन् ।
योसँगै निर्वाचन घोषणा भएपछि दर्ता भएका मतदाताको संख्या दुई लाख ८१ हजार १२९ पुगेको छ। आयोगले आज पनि नामावली दर्ता जारी राखेको छ । सम्बन्धित निर्वाचन कार्यालयमा नामावाली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन गर्न यही कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि जैविक विवरण दिन सकिने व्यवस्था गरेपछि परिचयपत्र बनाउनेको संख्या बढेको छ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर आयोगले मतदाता नामावली र अद्यावधिक कार्य सञ्चालन गरेको हो ।-रासस
FACEBOOK COMMENTS