काठमाडौं । साउन १५ को राष्ट्रिय खिर दिवसमा एक करोड लिटर दूध खपत हुने अनुमान गरिएको छ ।
नेपाल डेरी एसोसिएसनले यस वर्ष उक्त परिमाणमा दूध खपत हुने र त्यसबाट एक अर्ब बराबरको कारोबार हुने अनुमान गरेको हो ।दिवसका लागि “खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान“ भन्ने नारा तय गरिएको छ ।
एसोसिएसनले साउन १५ मा हुने ठूलो परिमाणको कारोबारले दूध उत्पादक किसान, डेरी उद्योग र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
पछिल्लो समय दूध उत्पादन बढे पनि बजार विस्तार चुनौतीपूर्ण रहेकाले यस्ता दिवसले स्वदेशी उत्पादनको खपत बढाउन सहयोग पुग्ने कार्यक्रम एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालको अपेक्षा छ ।
यो दिवसले नेपाली मौलिक खानाको संरक्षणका साथै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूको भनाइ छ ।