काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि २ रात ३ दिनको ‘लिडर्स नाइट विद भूषण दाहाल’ कार्यक्रम चितवनको सौराहास्थित होटेल सेभेन स्टारमा सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०८१ साउनमा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई गैंडाकोटस्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा वरिष्ठ पत्रकार भूषण दाहालसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणासहित प्रदेश प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरूलगायत देशभरबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल करिब २२५ जना वरिष्ठ अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।
साथै कार्यक्रमका प्रमुख अतिथि भूषण दाहालले सहभागी अभिकर्ताहरूलाई नेतृत्वका बारेमा विशेष प्रशिक्षण प्रदान गरेका थिए । उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिल्यै पनि प्रश्न होइन हजाराैं प्रश्नको जवाफ दिने आँट र साहस बोकेर बस्न सक्नुपर्ने धारणा राखे ।
समारोहमा योजनामा छनोट भई सहभागी भएका अभिकर्ताहरूलाई पत्रकार दाहालले सम्मानपत्र प्रदान गरेका थिए ।
सहभागी अभिकर्ताहरूले पत्रकार दाहालबाट सम्मान प्राप्त गर्ने अवसर दिलाएकामा कम्पनीप्रति आभार व्यक्त गर्दै यस प्रकारका कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्तिविकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
FACEBOOK COMMENTS