वीरगञ्ज । प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा व्यक्त गरेका गम्भीर आरोप तथा टिप्पणीप्रति कलेज प्रशासनले कडा आपत्ति जनाएको छ।
कलेज प्रशासनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद अन्सारीबाट उठाइएका आरोपका सम्बन्धमा हालसम्म कुनै सम्बन्धित नियामक वा सरकारी निकायबाट आरोप पुष्टि भएको आधिकारिक निष्कर्ष प्राप्त नभएको स्पष्ट पारेको छ।
कलेजले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा सार्वजनिक रूपमा उठाइने विषयहरू प्रमाणित तथ्य, दस्तावेजी आधार र अधिकारप्राप्त निकायको आधिकारिक परीक्षणमा आधारित हुनुपर्ने धारणा अघि सारेको छ।
नेशनल मेडिकल कलेज विगत करिब २५ वर्षदेखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको संस्था भएको बताउँदै कलेजले चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सम्बन्धित निकायको नियमित अनुगमन तथा नियामकीय प्रक्रियाअन्तर्गत सञ्चालन हुँदै आएको जनाएको छ।
सांसद अन्सारीले उठाएका आरोपप्रति कलेजले प्रतिवाद गर्दै तथ्यमा आधारित निष्कर्ष र पारदर्शी परीक्षणका लागि आफू आवश्यक सम्पूर्ण अभिलेख तथा प्रमाण सम्बन्धित निकायसमक्ष उपलब्ध गराउन तयार रहेको जनाएको छ।

कलेज प्रशासनले प्रमाणित नभएका आरोप तथा टिप्पणीले विद्यार्थी, चिकित्सक, कर्मचारी, बिरामी तथा समग्र संस्थाको प्रतिष्ठामा अनावश्यक असर पर्न सक्ने भन्दै संवेदनशील विषयमा आवश्यक प्रमाण र आधारबिना आरोप वा टिप्पणी नगर्न आग्रह गरेको छ।

विज्ञप्तिमा नेशनल मेडिकल कलेजले आफ्नो करिब २५ वर्षको संस्थागत इतिहास, चिकित्सा शिक्षाको गुणस्तर, सुरक्षित स्वास्थ्य सेवा, विद्यार्थीको शैक्षिक हित तथा नियामकीय मापदण्डको पालना गर्दै आएको प्रतिबद्धता पुनः स्पष्ट गरेको छ।

कलेज प्रशासन प्रमुख विश्वनाथ कर्णद्वारा जारी विज्ञप्तिमा सांसद अन्सारीले उठाएका विषयलाई सम्बन्धित नियामक निकायबाट तथ्य र प्रमाणका आधारमा परीक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।