काठमाडौं । नयाँँ स्टक एक्सचेञ्जका लागि आइतबार दिउँसोसम्म दुई ओटा कम्पनीको आवेदन परेको छ । शुक्रवार हिमालयन स्टक एक्सचेञ्जले निवेदन दर्ता गराएकोमा आइतवार नेशनल स्टक एक्सचेञ्जले समेत आवेदन दर्ता गराएको हो ।
नेपाल धितोपत्र बोर्डले चैत ३० गते एक नयाँ स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्जका लागि आवेदन माग गरेको हो । आइतवार साँझ ५ बजेसम्म आवेदन दर्ता गर्न सकिने जानकारी बोर्डले दिएको छ । दुई कमोडिटी एक्सचेञ्जका लागि भने हालसम्म कुनै पनि आवेदन नपरेको बोर्डको भनाई छ ।
आइतबार निवेदन दर्ता गराएको नेशनल स्टक एक्सचेन्जमा सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुप लगायतको लगानी रहेको छ । यस कम्पनीमा एनआरएनका अध्यक्ष बद्री केसी, उपेन्द्र महतो, दीपक तिमिल्सिना, जीवा लामिछाने, कुल आचार्य, विजंग लामिछाने र गौरी जोशीको लगानी रहेको छ ।
नयाँ स्टक एक्सचेञ्जका लागि ३ अर्ब चुक्तापूँजी तोकिएको छ । ३ अर्ब पूँजीमा नयाँ स्टकले ७० प्रतिशत संस्थापक तर्फ र ३० प्रतिशत सर्वसाधारणतर्फ स्वामित्व कायम गर्नुपर्ने व्यवस्था समेत बोर्डले गरेको छ ।
यस अघि दर्ता भएको हिमालयन स्टक एक्सचेञ्जमा भने हिमालयन रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरूकै लगानी रहेको छ । शंकर ग्रुप अन्तर्गतको कम्पनी र दिपक भट्ट समूहको मूख्य लगानी रहेको कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरू भवानी राना, शेखर गोल्छा, पशुपति मुरारकाले संस्थागत रुपमा लगानी रहेको छ ।
त्यस्तै परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख शतिस मोर, ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मिस्सुबीसी कम्पनीको आधिकारिक बिक्रेता आषिश श्रेष्ठ, शिभम् सिमेन्टका सञ्चालक तथा सायोमी मोवाइलको नेपालका लागि आधिकारिक बिक्रेता रोहित गुप्ता, मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवाल लगायतको समेत उक्त कम्पनीमा लगानी रहेको छ ।
नेपाल धितोपत्र बोर्डले गत कात्तिक १५ गतेदेखि स्थगित भएको नयाँ लाईसेन्स वितरण प्रक्रिया अघि बढाएको हो । यस अघि बार्डले गत असोज २ गते नयाँ स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र ब्रोकर लाईसेन्सका लागि आवेदन माग गरेको थियो ।
नयाँ लाईसेन्स वितरणको विरुद्ध सर्वोच्च अदालतमा दुई ओटा रिट परेसँगै अदालतकै आदेशमा बोर्डले कात्तिक १५ गते यथास्थितिमै नयाँ लाईसेन्स वितरण प्रक्रिया स्थगित गरेको थियो ।
बोर्डले वितरण गर्न लागेको लाईसेन्स वितरणको विरुद्ध परेको दुबै रिट खारेज भएसँगै बोर्डलाई प्रक्रिया अघि बढाएको हो । नयाँ ब्रोकर लाइसेन्सका लागि भने बोर्डले ४६ ओटा आवेदन प्राप्त गरिसकेको छ ।
FACEBOOK COMMENTS