काठमाडौं । साढे ६ दशकको गौरवमय इतिहास बोकेको गोल्याण ग्रुप अहिले एउटा सुखद क्षणबाट गुज्रिरहेको छ ।
विरासतले सुम्पिएको जिम्मेवारी र आधुनिक व्यवस्थापनको ‘भिजन’ बोकेका ३७ वर्षीय अक्षय गोल्याणले समूहको नेतृत्व सम्हालेसँगै काम गर्ने परम्परागत शैलीमा एउटा नयाँ आयाम थपेका छन्, जसलाई उनले नाम दिएका छन्, ‘वार्ता’ ।
सामान्यतया ठूला व्यावसायिक घरानाका अध्यक्ष र कनिष्ठ कर्मचारीबीचको दूरी ‘आकाश–पाताल’को जस्तो हुन्छ । तर, स्पेनको प्रतिष्ठित ‘एसादी युनिभर्सिटी’बाट बिजनेस स्टडिजमा स्नातकोत्तर गरेका अक्षयले यो दूरीलाई सामाजिक सञ्जालको पोस्टमा मात्र होइन, कार्यस्थलमै मेटाउन सुरु गरेका छन् ।
के हो ‘वार्ता’ को दर्शन ?
अक्षयले हालै सार्वजनिक गरेको एउटा भिडियो सन्देशले नेपालको कर्पोरेट क्षेत्रमा एउटा बहस छेडिदिएको छ । उनले भनेका छन्, ‘तपाईंहरुको आवाजले हामीलाई हाम्रो वास्तविक शक्तिको बोध गराएको छ । सोधिएका प्रश्न र औंल्याइएका चुनौती नै यो संस्थाको भविष्यका आधार हुन् ।’ ‘वार्ता’ केवल एउटा औपचारिक कार्यक्रम मात्र होइन, यो १० हजारभन्दा बढी जनशक्ति भएको गोल्याण ग्रुपको आन्तरिक लोकतन्त्र सुदृढ गर्ने एउटा औजार पनि हो ।

‘तपाईँहरूको आवाज र दृष्टिकोणले हाम्रो वास्तविक शक्ति महसुस गराएको छ’ भन्दै गोल्याणले कर्मचारीबाट प्राप्त सुझाव र प्रश्नहरू संस्थाको भविष्य निर्माणमा महत्वपूर्ण हुने उल्लेख गरेका छन् । गत मंसिरमा नेतृत्व सम्हालेका ३७ वर्षीय अक्षयले गोल्याण ग्रुपमा व्यवस्थापन शैलीमा परिवर्तन ल्याउने क्रममा ‘वार्ता’लाई प्राथमिक पहलका रूपमा अघि बढाएका हुन् ।



के छ भिडिओ सन्देशमा ?
भिडियोमा उनी ग्रुपका कर्मचारीसँग प्रत्यक्ष संवाद गरिरहेको देखिन्छ । करिब १० हजार कर्मचारी तथा मजदुर कार्यरत रहेको गोल्याण ग्रुपको कर्पोरेट कार्यालय—गोल्याण टावर—बाट सुरु गरिएको यस पहलमा उनले कर्मचारीका प्रश्न, गुनासा र सुझाव प्रत्यक्ष सुनेका छन् ।
‘हाम्रा कर्मचारीहरू केवल काम गर्ने जनशक्ति मात्र होइनन्, उनीहरू सोच्ने र संस्थाको समृद्धिमा योगदान गर्ने सक्षम साझेदार हुन्,’ उनले अनुभव साझा गर्दै बताएका छन् । साथै, प्राप्त विश्वासलाई निर्णय प्रक्रियामार्फत कार्यान्वयनमा रूपान्तरण गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
साढे ६ दशक लामो इतिहास बोकेको गोल्याण ग्रुप अहिले तेस्रो पुस्ताको नेतृत्वमा अघि बढिरहेको छ । उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा सक्रिय यस समूहलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभ्याउने लक्ष्यसहित अक्षयले आन्तरिक संरचना सुदृढ बनाउने रणनीति अपनाएका छन्, जसअन्तर्गत ‘वार्ता’ कार्यक्रम सुरु गरिएको हो ।
उनका अनुसार अनौपचारिक शैलीमा सञ्चालन हुने वार्ताले अध्यक्ष र कर्मचारीबीच खुला संवादको वातावरण सिर्जना गर्छ । यसले विश्वास अभिवृद्धि, पारदर्शिता र संगठनभित्र बलियो सम्बन्ध विकास गर्न मद्दत पुर्याउँछ । ‘वार्ता’ कार्यक्रम त्यसैको एक संकेतका रूपमा हेरिएको छ, जहाँ नेतृत्व सुन्ने, बुझ्ने र त्यसैअनुसार निर्णय गर्ने दिशातर्फ उन्मुख देखिन्छ ।
FACEBOOK COMMENTS