बुटवल । उद्यमशीलताको विकास गर्ने लक्ष्यसहित रुपन्देहीमा आजदेखि युवा उद्यमी सम्मेलन सुरु भएकाे छ । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा पहिलोपटक सम्मेलन हुन लागेको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थि ड्राईभर टोलमा रहेको होटल एसआरमा आयोजना हुने सम्मेलनमा देशभरका युवा उद्यमी सहभागी छन् । मञ्चका अध्यक्ष प्रदिप शाक्यका अनुसार युवा उद्यमशीलताको विषयमा जागरण पैदा गरी स्वदेशभित्रै स्वरोजगारका अवसर सिर्जना गर्न सम्मेलनले बाटो देखाउनेछ ।
युवा उद्यमशीलताको विकास, नयाँ उद्यमीको खोजी तथा सम्भावनाको विषयमा सरकार र युवा उद्यमीबीच पुलको काम गर्न सम्मेलन केन्द्रीत हुने शाक्यकाे भनाइ छ ।
सम्मेलनमा सहभागी विभिन्न उद्यमीले उद्यमशीलताको विकासका विषयमा कार्ययोजनासहितको प्रस्तुति दिने छन् भने लुम्बिनी प्रदेश सरकारको तर्फबाट प्रदेश योजना आयोगले अवधारणापत्र प्रस्तुत गर्नेछ ।
सम्मेलनमा करिब साढे तीन सय युवा उद्यमीको सहभागिता रहने कार्यक्रम संयोजक सन्देश श्रेष्ठले जानकारी दिए । सम्मेलनमा लोट्स होल्डिङका संस्थापक अजितविक्रम साह, इ-सेवा, फोन पे प्रालिका अध्यक्ष अस्गर अली, टोलेका संस्थापक शिक्षित भट्ट, कारखानाका संस्थापक पवित्रा गौतम, कृषिविज्ञ राजेन्द्र देवकोटा, अन्तरप्रेरणाका संस्थापक निरज खनाल, थ्रीएच म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत मोहनबाबु कार्की, लुम्बिनी प्रदेश योजना आयोगका प्रवक्ता डा. दामोदर भुसाल, मेगा बैंक लिमिटेडका प्रवन्धक विप्लव त्रिपाठी, सिद्धार्थ इन्टरनेशनल कलेजका प्राध्यापक रामप्रसाद खरेल, मेल्टिज बुटवलका प्रविना खनाल, साधना नेपाल इन्डष्ट्रिजका संस्थापक हिमाल बेलबासैलगायतको प्रस्तुति रहनेछ ।
युवा उद्यमशीलताको विकास कसरी गर्न सकिन्छ र व्यावसायिक भावनाको विकास र एकता कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनले ठोस मार्गनिर्देश गर्ने मञ्चका अध्यक्ष शाक्यले बताए ।
FACEBOOK COMMENTS