काठमाडौं । धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ।
हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। नौबिसे नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाका अनुसार नौबिसे नागढुंगा सडक खण्ड अन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुई वटा पुल निर्माण गर्नुपर्ने थियो।
सोही बमोजिम आयोजनाले धेरै काम सम्पन्न गरी सकेको छ। आयोजनाले अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गर्नुपर्नेछ।
अन्तिम तहको कालोपत्रेको काम सकिएपछि सडक सुरक्षाका मापदण्ड तथा रंगरोगनको काम सुरू गरिने आयोजनाले जनाएको छ।
फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन र त्यसअघि होली पर्वका कारण काम केही प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ। आकाशे पुल निर्माण हुने खानीखोला क्षेत्रमा रहेको टहरा विवादका कारणले पनि केही समय निर्माणमा ढिलाइ भएको छ।

FACEBOOK COMMENTS