धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टीको संसदीय दलका नेता धनश्याम चौधरीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र पठाएका हुन् ।
पत्रमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको निर्णयअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी गराइएको छ ।
बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाबाट मन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएको हो ।
नाउपाले समर्थन फिर्ता लिए पनि सरकारलाई भने कुनै असर गर्दैन । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८ र नेकपा (एमाले) का ११ सांसद छन् । त्यस्तै, प्रदेशमा नेकपा (माओवादी केन्द्र) का ११, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४ तथा राप्रपा र स्वतन्त्रका एक–एक सांसद छन् ।
FACEBOOK COMMENTS