काठमाडौं । नवराज–शारदा स्मृति समाजले आफ्नो तेस्रो वार्षिकोत्सव तथा पण्डित नवराज पौडेलको १०४औँ जन्मजयन्ती विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रम गरी मनाएको छ ।
आज शुक्रबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी पण्डित नवराज पौडेलको १०४औँ जन्मजयन्ती तथा नवराज–शारदा स्मृति समाजको तेस्रो वार्षिकोत्सव मनाएको हो ।
पाँचजना बटुकहरूद्वारा स्वस्ती वाचनका साथ काठमाडौं महानगरपालिका–३१ का वडाध्यक्ष सरोज ढकालले पानसमा दीप प्रज्वलन तथा पण्डित नवराज पौडेल तथा शारदा देवी पौडेलको तस्बिरमा माल्यार्पण गरी कार्यक्रम उद्घाटन गरे ।
समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्था गठनको पृष्ठभूमिका सम्बन्धमा प्रकाश पार्दै आफ्ना बुबा पण्डित नवराज पौडेल तथा आमा शारदा देवी पौडेलले दिएको असल संस्कार, शिक्षा र अभिप्रेरणाकै कारण समाजका लागि केही योगदान पुर्याउने उद्देश्यका साथ स्मृति समाज स्थापना गरिएको बताए । साथै उनले आफ्ना बुबा र आमाले सनातन धर्म संस्कृति तथा सामाजिक हितमा आफ्नो सारा जीवन समर्पित गरेको पनि उल्लेख गरे ।
कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, आफन्तजन, इष्टमित्र, टोल छिमेकका प्रनिष्ठित व्यक्तिहरूको उपस्थिति थियो भने धार्मिक संस्कार र संस्कृतिसम्बन्धी सामुहिक छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
यो वर्ष उक्त संस्थाले रत्न राज्यलक्ष्मी माध्यामिक विद्यालय बानेश्वरमा अध्यनरत असहाय, अनाथ, गरिब, जेहेन्दार विद्यार्थीहरूका लागि आवश्यक स्टेशनरीका सामानहरू उपलब्ध गराएको जानकारी अध्यक्ष पौडेलले जानकारी दिए ।
‘समाजका लागि यथासक्य योगदान गर्ने लक्ष्यका साथ समयसापेक्ष हाम्रा विविध संस्कारहरू तथा कर्मकाण्डलाई परिमार्जन गर्दै लैजानुका साथै आर्थिक अभावमा शिक्षाबाट विमुख भएका समाजका विपन्न तथा जेहेन्दार छात्रछात्राहरूलाई विद्यालय तथा उच्च शिक्षा हासिल गर्न मद्दत पुर्याउन छात्रवृत्ति कोषको स्थापना गरी, छात्रवृत्ति प्रदान गर्ने र यसका माध्यमबाट यथासक्य शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ यो संस्था स्थापना भएको हो,’ अध्यक्ष पौडेलले भने ।
FACEBOOK COMMENTS