काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको बताएका छन् ।
अध्यक्ष अग्रवालले राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई नयाँ गति दिन सक्ने आधार तयार गरेको प्रतिक्रिया दिएका हुन् ।
लामो समयदेखि सुस्ताएको अर्थतन्त्र, घट्दो लगानी, कमजोर औद्योगिक उत्पादन तथा युवाको बढ्दो विदेश पलायनजस्ता चुनौतीका बीच सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ल्याएका कार्यक्रमहरू सकारात्मक रहेको उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक आधुनिकीकरण, औद्योगिकीकरण, डिजिटल अर्थतन्त्र, पूर्वाधार विस्तार, विदेशी लगानी, सूचना प्रविधि तथा निर्यात प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राखिएको छ । निजी क्षेत्रले यसलाई अर्थतन्त्र पुनरुत्थानको सङ्केतका रूपमा हेरेको छ ।
अध्यक्ष अग्रवालले सरकारले घोषणा गरेका कार्यक्रमहरूले लगानीको वातावरण सुधार गर्नुका साथै दीर्घकालीन आर्थिक वृद्धिका लागि महत्वपूर्ण आधार निर्माण गर्ने विश्वास व्यक्त गरेका छन् ।
