काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जन विजेता बनेका छन् ।
महर्जनले प्रथम स्थान हात पार्दै एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको ब्रान्ड डिल जितेका हुन् ।
आफूलाई ‘म्याडम्वाजेल क्रिएटर’का नामले चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै ५ लाख रुपैयाँ बराबरको ब्रान्ड डिल जित्न सफल भइन्। त्यस्तै, बागलुङका मनिष रुचेल तेस्रो स्थानमा रहँदै २ लाख ५० हजार रुपैयाँ बराबरको डिल जित्दा बुटवलका प्रशान्त पाण्डेले चौथो स्थान प्राप्त गर्दै १ लाख रुपैयाँको ब्रान्ड डिल प्राप्त गरे।
गत शुक्रबार काठमाडौंमा आयोजित ग्रान्ड फिनाले कार्यक्रमबीच विजयी क्रिएटरहरूलाई पुरस्कार प्रदान गरिएको थियो। एनसेलले देशभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउन र नयाँ प्रतिभालाई पहिचान गर्न यो प्रतियोगिता आयोजना गरेको जनाएको छ।
एनसेलका चिफ कमर्शियल अफिसर उमेर मोहसिनले भने, “देशभर छरिएर रहेका भविष्यका प्रतिभाशाली कन्टेन्ट क्रिएटरहरूको पहिचान र सशक्तीकरण गर्ने हाम्रो उद्देश्य सफल भयो। विजेताहरूले पाएको ब्रान्ड डिलले उनीहरूलाई कन्टेन्ट क्रिएशनमा अझ निखार ल्याउन मद्दत गर्नेछ भन्नेमा म विश्वस्त छु।” उनले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबै मेन्टरहरूलाई समेत धन्यवाद व्यक्त गरे।
प्रतियोगिताका लागि देशभरबाट प्राप्त भिडियो आवेदनहरू मध्येबाट उत्कृष्ट ५० जना क्रिएटरहरू छनोट भएका थिए। पाँच जना मेन्टर— सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले सहभागीहरूलाई समूहगत रूपमा प्रशिक्षण तथा मार्गदर्शन दिएका थिए। मेन्टरहरूले सहभागीहरूलाई सामग्री योजना, सिर्जना प्रक्रिया, प्रभावकारी सन्देश प्रवाह र ब्रान्डसँग कसरी प्रस्तुत हुने भन्ने जस्ता विषयमा प्रशिक्षण दिएका थिए।
ग्रान्ड फिनालेमा निर्णायक मण्डलमा नेपालका लागि अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, चलचित्र निर्देशक सिमोस सुनुवार, एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह र अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्की रहेका थिए। निर्णायकहरूले उत्कृष्ट ५० मध्येबाट अन्तिम चार विजेता छनोट गरेका हुन्।
एनसेलले प्रतियोगिताबाट डिजिटल कन्टेन्ट क्रिएटरहरूलाई थप उत्प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरेको छ।
FACEBOOK COMMENTS