काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके)ले आगामी वैशाखमा भर्चुअल मेला आयोजना गर्ने भएको छ ।
वर्तमान डिजिटल युगको सदुपयोग गर्दै देशभरिका मानिसहरूले अवलोकन गर्नसक्नेगरी संघले पहिलोपटक अनलाइनमार्फत ‘भर्चुअल मेला’ आयोजना गर्न लागेको हो । संघका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले पहिलोपटक भर्चुअल प्रदर्शनी गर्ने निर्णय गरेको हो ।
‘अहिले डिजिटल युग छ । त्यसैले हामीले पनि भर्चुअल रुपमा प्रदर्शनी गर्न लागेका हौँ,’ संघका अध्यक्ष दिनेश श्रेष्ठले भने, ‘यसलाई मूर्त रुप दिँदा नयाँ आयाम थपिन्छ भन्ने हाम्रो विश्वास छ । यसले व्यवसायलाई पनि थप चलायमान बनाउन सहयोग गर्ने छ ।’
संघले आयोजना गर्ने मेलालाई थप व्यवस्थित र प्रभावकारी बनाउन छुट्टै समिति बनाएर काम सुरू गरिएको जानकारी अध्यक्ष श्रेष्ठले दिए । उनका अनुसार संघका सदस्य उज्वलजंग पराक्रम शाहको सभापतित्वमा प्रदर्शनी तथा प्रकाशन समिति समेत गठन गरिएको छ । समितिले संघको विभिन्न गतिविधिलाई व्यवस्थित र चलायमान बनाउन गहन भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।
यसैगरी, मेला प्रदर्शनी तथा प्रकाशन समितिका सभापति शाहले भर्चुअल मेला गर्दा व्यवसायी र ग्राहक दुवैलाई फाइदा पुग्ने बताएका छन् । ‘डिजिटल युगको सदुपयोग गरेर हामीले आगामी कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेका हौँ,’ उनले भने, ‘आधुनिक समाजमा हामीले हाम्रो सशक्त उपस्थिति जनाउन अतिआवश्यक छ । प्रदर्शनीसँगै समाजलाई पनि कसरी अगाडि बढाउन सकिन्छ भन्ने सोच्न जरुरी छ । यसरी भर्चुअल प्रदर्शनी गर्दा ग्राहक र व्यवसायी दुवैलाई फाइदा हुन्छ । हामीले धेरैसँग सहकार्य गर्न सक्छौँ ।’
परम्परावादी ढङ्गले आयोजना गरिने मेला र प्रदर्शनीहरूमा अवलोकनकर्ताहरू नै आउन छोडेको परिप्रेक्ष्यमा अनलाइनको माध्उमबाट हुने डिजिटल प्रदर्शनी अतिउपयोगी हुने विश्वास उनले व्यक्त गरेका छन् । ‘काठमाडौंमा बस्नेहरूको संख्या बढिरहेको छ, तर हाम्रो मेला तथा प्रदर्शनीहरूमा अवलोकनकर्ताहरू खासै आउँदैनन् । त्यसैले हामीले नयाँ ढङ्गबाट मेला आयोजनाको योजना बनाएका हौँ,’ सभापति शाहले भने, ‘अनलाइनको माध्यमबाट प्रदर्शनी गर्दा हरेक क्षेत्र र स्थानका मानिसहरूलाई सहजै सहभागिता जनाउने अवसर प्राप्त हुन्छ । उहाँहरूले आफू बसेकै ठाउँबाट विभिन्न वस्तु तथा सेवाहरूको अवलोकन गरी खरिद तथा बिक्री गर्न सक्नुहुनेछ ।’
बैठकमा मण्डला सिस्टम प्रालिका प्रबन्ध निर्देशक विप्लवमान सिंहले भर्चुअल मेला कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृत प्रस्तुति दिएका थिए । उनले भर्चुअल प्रदर्शनी गर्दा खर्च समेत कम हुने बताएका छन् । ‘हामीले धेरै भर्चुअल प्रदर्शनी गरिसकेका छौँ । उहाँहरुको व्यापार व्यवसाय पनि राम्रै भएको छ । त्यसैले अनलाइनबाट प्रदर्शनी गर्दा कम खर्च र व्यवस्थापन गर्न सहज हन्छ । यस्तो मेलामा लाखौँ मान्छेको सहभागिता हुन्छ,’ उनले भने ।
यसरी मेला गर्दा आफ्नो सामानबारे जानकारी दिन अनलाइन कल गर्न सकिने र एक ठाउँबाट अर्को ठाँउमा धाउनु नपर्ने भएकाले सबैलाई सहज हुने विश्वास संघको छ ।
उद्योग वाणिज्य संघ काठमाडौंले दुईवटा समितिलाई पूर्णता दियो, को–को बने सभापति र सदस्यहरू ?
FACEBOOK COMMENTS