काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके)ले नयाँ बानेश्वर व्यापार व्यवसायी संघसँग समसामयिक र व्यावसायिक विषयहरूमा छलफल गरेको छ ।
आज मंगलबार शंखमुलमा संयुक्त कार्यक्रम आयोजना गरी संघले मुलुकको पछिल्लो व्यावसायिक अवस्था र व्यवसायीहरूले भोगिरहेको समस्याका बारेमा छलफल गरेको हो ।
काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न वस्तुगत संघहरूसँग भेटघाट गर्ने र स्थानीयस्तरका समस्याहरूबारे जानकारी लिई उजागर गर्ने संघको अभियानअन्तर्गत आज नयाँ बानेश्वर व्यापार व्यवसायी संघसँग छलफल गरिएको संघका महासचिव दुर्गाराज श्रेष्ठले जानकारी दिए ।
‘हामीले गरेको यो कार्यक्रमको आज तेस्रो एपिसोड हो । यसअघि पहिलो खिचापोखरी न्यूरोड व्यापार संघ र दोस्रो राष्ट्रिय व्यापार संघसँग यो प्रकृतिको कार्यक्रम गरिसकेका छौँ,’ महासचिव श्रेष्ठले भने । स्थानीयस्तरका व्यापारी व्यवसायीका समस्याहरू पहिचान गर्ने र समाधानका निम्ति एनसीआईसीकेले पहलकदमी लिने उद्देश्यमा साथ कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।
कार्यक्रममा व्यापार व्यवसाय खस्कँदो अवस्थामा रहेको, सरकारको स्पष्ट नीति नहुँदा साना व्यापारी व्यवसायीहरूमा अन्योलता सृजना भइरहेको, घरबहाल लिने÷दिने सम्झौताका विषयमा समस्या रहेको तथा उचित र सहज पार्किङको व्यवस्था नभएका कारण व्यापार व्यवसायमा नकारात्मक प्रभाव परिरहेको विषयबारे छलफल भएको छ ।
यस्तै, थोक व्यापारी र खुद्रा व्यापारी, अन्डर इन्भ्वाइसिङ, रि–प्याकेजिङ्ग, बजार अनुगमन, थ्रेसहोल्ड आदि विषयमा पनि कार्यक्रममा व्यापक रूपमा छलफल भएको छ । कार्यक्रमले अत्यन्तै तल्लो तहका समस्याहरू उजार गरी समाधान खोज्ने महासचिव श्रेष्ठको भनाइ छ । उनका अनुसार त्यस अवसरमा एनसीआईसीकेका अध्यक्ष दिनेश श्रेष्ठसहितको कार्यसमिति टोलीले नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नवीन लुइँटेललगायत कार्यसमिति सदस्यहरूसँग विशेष छलफल पनि गरेको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठसहित वरिष्ठ उपाध्यक्ष जय प्रसाद शिवाकोटी, उपाध्यक्ष राजेन्द्र शेरचन, उपाध्यक्ष रमानाथ श्रेष्ठ, महासचिव दुर्गाराज श्रेष्ठ, सह–कोषाध्यक्ष नानिराज घिमिरे, कार्यसमिति सदस्यहरू राजेन्द्र संग्रौला, प्रेमहरि मैनाली, सागर शाक्य, शिशिर बहादुर गौतमलगायतको सहभागिता थियो ।
FACEBOOK COMMENTS