कला र संस्कृतिले समृद्ध काठमाडौं जिल्लामा नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) ले पहिलो पटक आयोजना गरेको ‘काठमाडौं महोत्सव, २०८२’ र ‘काठमाडौं बिजनेश एक्स्पो, २०२६’ मा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु ।
मेलाको महत्वको कदर गर्दै, र्यालीमा भाग लिइ, उद्घाटन समारोहमा समेत उपस्थित भइ हाम्रो हौसला बढाइ दिनुहुने यस समुद्घाटन समारोहमा सार्क चेम्बर, अन्तर्राष्ट्रिय चेम्बर साथै व्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स एवम् घरेलु तथा साना उद्योग वाणिज्य संघका अध्यक्ष एवम् पदाधिकारीहरू, काठमाडौं जिल्लाका नगर प्रमुख तथा उपप्रमुखहरू, नेपाल सरकारका उच्चपदस्थ अधिकृतहरू, जिल्ला, नगर, वस्तुगत तथा स्थानीय उद्योग तथा व्यापार, व्यावसायिक संघ तथा महासंघहरूका अध्यक्ष तथा पदाधिकारी मित्रहरू, यस महोत्सवका प्रवद्र्धक, सहयोगी संघ, संस्था तथा वडाका प्रमुख तथा प्रतिनिधिहरू, मेलामा वस्तु तथा सेवा प्रर्दशन गर्नुहुने स्वदेश तथा विदेशका प्रदर्शकज्यूहरू, शिल्पी तथा कलाकार मित्रहरू, रैथाने खाना पस्किने श्रृजकहरू, सञ्चारकर्मी मित्रहरू, र्यालीमा भाग लिनुहुने कलाकार, विद्यार्थी भाइबहिनीहरू, मेला अवलोकन गर्न पाल्नुभएका महानुभावहरू, उपस्थित महिला तथा सज्जनबृन्द सबैमा न्यानो अभिवादनसहित हार्दिक स्वागत गर्दछु ।
तपाईहरूको उपस्थितीले यो महोत्सवलाइ बिशेष बनाएको छ । जीबित देबी कुमारी माजूको आशीर्बाद प्राप्त गरी बाजागाजासहितको र्याली यहाँ पुगेर मातृशक्ति प्रतीक नारी युवा नेतृको करकमलबाट यस काठमाडौं व्यापार मेला र महोत्सवको समुद्घाटन गराउन पाउँदा हामी निकै गौरवान्वित छौँ । आराध्यदेब भगवान पशुपतिनाथ र स्वयम्भूनाथ बास रहेको यो पबित्र भूमी, देबदेबी अवतरित देवभूमीमा पहिलो पटक आयोजना गर्न लागिएको यो महोत्सव यहाँहरूको भव्य उपस्थितिबाट हामी आयोजक तथा प्रदर्शकहरू कार्यक्रम सफल भएको महसुस पनि गर्दैछौँ ।
‘व्यापार व्यवसायको उत्थान, कला संस्कृति र पर्यटन प्रवद्र्धन, समृद्ध काठमाडौं हाम्रो अभियान’ को नारासहित काठमाडौंमा पहिलो पटक संघले काठमाडौं महोत्सव २०८२ र व्यापार मेला उत्सवका रूपमा आयोजना गर्दैछौँ । यो अवसर मात्र हाम्रो सांस्कृतिक पहिचानको उत्सव होइन, यो हाम्रो उद्यमशीलता, सृजनशीलता र समुदायको अभिवृद्धिको पर्व पनि हो । यो मेला र उत्सव केवल व्यापार र उद्योगको उत्पादन प्रदर्शन गर्नु मात्र पनि होइन, हाम्रो कला, संस्कृति र परम्परालाइ एकै ठाउँमा प्रस्तुत गर्नु पनि हो ।
यस मेलाको विशेष आकर्षणका रूपमा काठमाडौं जिल्लाका स्थानीय निकाय महानगर र नगरपालिकाहरूबाट स्वरोजगारका लागि प्रदान गरिएको महिला उद्यमीलक्षित सिपयुक्त तालिम प्राप्त गरेका उद्योगीहरूका उत्पादन रहेका छन् । एक वडा, एक उत्पादन कार्यक्रम र सिपमूलक तालिम लिएर उत्पादित वस्तुमध्ये प्रत्येक वडाका उत्कृष्ट उत्पादनका लागि बजार पहुँच यस्को लक्ष्य हो । प्रदर्शनमा राखिएका वस्तुहरू प्रविधिमार्फत विश्वभर जानकारी दिन यसै साथ डिजिटल एक्सपो पनि सुरू गर्दैछौँ ।

हामी विश्वास गर्छौँ कि यो महोत्सव केवल काठमाडौंलाई मात्र होइन, सम्पूर्ण नेपाललाई उद्यमशीलता र सांस्कृतिक उन्नतिको नयाँ मार्गमा अघि बढाउने छ । यहाँ प्रस्तुत हुने स्टल, प्रदर्शन र कार्यक्रमले हाम्रो उद्योगको पहिचान दिनेछ । हालैका दिनहरूमा बजारमा वस्तु तथा सेवाहरूको मागमा आएको कमी र निजी क्षेत्रको निराशा चिर्न यो मेला र महोत्सव सहयोगी हुने आशा छ । अवलोकनकर्ताहरू प्रदर्शनमा वस्तु र सेवाको जानकारी, कारोबार, विषेश छुटका साथ खरिदबिक्री गर्दै रैथाने खानाको स्वाद लिँदै, अबको चार दिन सांस्कृतिक कार्यक्रमको भरपुर मनोरञ्जन प्राप्त गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ ।

हाम्रो संविधानले देशको शासकीय स्वरूप परिवर्तन गरी स्थानीय निकायलाई श्रोत र शक्ति सम्पन्न गर्ने गरी स्थानीयस्तरमा कृषि, शिक्षा, स्वास्थ्यका साथै उद्योग र व्यापार, आपूर्ति, पर्यटन, संस्कृति विकास र सम्वद्र्धन समेतको व्यवस्थापन स्थानीय निकायलाई दिएको छ । तर आज एक दशक भइसक्दा पनि केन्द्रबाट पूर्णरूपमा स्थानीय निकायलाई स्वायत्त बनाइरहेको छैन । संविधानमा परिवर्तन गरिएजस्तै गरी हाम्रो सोच र व्यवहारमा पनि परिवर्तन जरुरी रहेको छ । अब निजी क्षेत्र स्थानीय निकायसँग मिलेर व्यापार व्यवसाय प्रवद्र्धनका लागि सहकार्य गर्न जरुरी भएको छ । यसको सुरूवातका रूपमा यो उत्सवमा स्थानीय निकायको उत्साहपूर्ण सहभागिता र आर्थिक सहयोगले प्रतिबिम्ब गर्दछ ।

आउँदा दिनहरूमा यस संघ स्थानीय निकायहरूसँग अझ बढी सामिप्यमा रहेर कार्य गर्न प्रतिबद्ध छौँ । अब निजी क्षेत्रलाई किन सहयोग र सहकार्य गर्ने भनी कहीँकतै कुनै निकायबाट प्रश्न नगर्न खबरदारी पनि गर्दछौँ । आज स्थानीय निकायमा प्रष्ट देखिनेगरी हामीले तिरेको कर हाम्रो विकासका लागि देखिने गरी कार्यहरू भएका छन् । यसको निरन्तरताको हामी आशा गर्दछौँ ।

विश्वका पर्यटकीय नगरमा प्राय: वर्षभरि नै आन्तरिक र बाह्य पर्यटकलक्षित गरी विविध कार्यक्रमहरू भइरहने गर्दछ । प्रत्येक सडकहरूमा गाना, बजाना, खाना र रङ्गी–बिरङ्गी तोरणले सजिएर कला संस्कृति प्रदर्शन भइरहेको हुन्छ । विश्व सम्पदामा सूचिकृत र एक पटक जिन्दगीमा पुग्नुपर्ने पर्यटकीय गन्तव्य रहेको काठमाडौंं शहरमा यस्ता कार्यक्रमले आन्तरिक र बाह्य पर्यटक वृद्धि गर्न मद्दत गर्ने छ ।

हामी सबै उद्योगी व्यापारी र निर्यातकर्ताहरूका लागि सरकार, उद्योग र निर्यात वृद्धि गर्ने भनिरहँदा देशको राजधानीमा अन्तर्राष्ट्रिय स्तरको एउटा प्रर्दशनी र सभाहल नहुनु निकै पिडादायी कुरा हो । यो जमिन यहीँका भूमिपुत्रहरू हाम्रा पुर्खाले कृषि कर्म गरी आएको जमिन थियो । राम्रो फसल उब्जनी हुने गर्दथ्यो । तिनताक सरकारले अधिग्रहण गरी लिएको यो जमिनमा मित्रराष्ट्रले दिएको बालट्रेन पहिलोपटक काठमाडौंंवासीले देखेको र पञ्चायतकालमा रमाइलो मेला गरी विकासका झाँकी प्रदर्शन हुने गरिन्थ्यो । तर, यो मित्रराष्ट्रले दान दिएर बनाएको हल हामी संरक्षणसम्म गर्न नसकेको देख्दा र यसलाई दयनीय र जीर्ण अवस्थामा पाउँदा दु:ख लागेको छ ।
सरकारसम्म यो कुरा पुग्छ भने यो जमिन महानगरपालिकालाई हस्तरान्तरण गरियोस् किनकि मेला, पार्क, स्थानीय निकाय अन्तर्गत रहन्छ भन्ने सुनेको थिएँ । अगाडिको राष्ट्रिय सभागृह हेर्नुहोस् कस्तो चिटिक्क छ । आज म यहाँबाट उद्घोष गर्न चाहान्छु– विगतका धेरै नेताहरू आए र निजी क्षेत्रप्रति फूलबुट्टा भरी राम्रा–राम्रा आश्वासनहरूका माला हामीले पायौँ । यहाँ मेला प्रर्दशनी उद्घाटन गरी सबैले मञ्चबाट यो स्थलमा अन्तर्राष्ट्रियस्तरको प्रर्दशनीस्थल बनाउने बचन दिँदै गएका छन् । तर मञ्चबाट ओर्लिंदै गर्दा त्यो बोलेको बोली कोही यहीँ छोडेर जाने वा मञ्चबाट झार्ने गर्नुहुँदो रहेछ । भृकुटीमण्डपमा हामीले सोचेजस्तो संरचना बनोस् भन्ने सरकार साँच्चै चाहान्छ भने यो जग्गा सरकारले हामीलाई लिजमा ४९ वर्षका लागि उपलब्ध गराउनुस् । सरकारको एक पैसा लगानीबिना तीन वर्ष निर्माण अवधि राखेर प्रत्येक वर्ष हाल कमाएको बराबर रकम र त्यो रकममा प्रत्येक दुई वर्षमा ५% थप गर्ने गरी यो स्थल अन्तर्राष्ट्रियस्तरको मेला महोत्सव र सभाहल बनाउन हाम्रो संघ तयार छ ।
४९ वर्षपछि बिना लगानी सरकारलाई सजावटसहित चिटिक्क पारेर र्पिmता दिनेछौँ । हामीलाई विदेशी प्रदर्शक आउँदा यो जीर्ण भवन देखाउँदा लाज लाग्दछ । प्रत्येक प्रदर्शनमा यसमाथि क्रिम–पाउडर, लिपिस्टिक लगाउँदै गर्दा हिनताबोध भएको छ । यसमा सम्बन्धित निकाय गम्भीर भएर सरकार प्रमुखको बचन खेर जान नदिने गरी शीघ्र कदमको आशा गर्दछु ।
हाम्रो आजको चिन्ता भनेको हाम्रो समृद्धि हो । युवा जनशक्तिहरूको पलायन हो । हामी किन गरिब हुँदैछौँ । युवा किन पलायन रुचाउँदै छन् ? मेरो संसार, मानवता, विश्व भातृत्वको ठाउँमा मेरो देश, राष्ट्यिता, स्वाबलम्बी र स्वदेशीले ठाउँ लिँदैछ । तर, हाम्रो चिन्ता र चिन्तनको विषय हामी गरिब हुँदै जाने र युवाले देशमा भन्दा विदेशमा अवसर देख्नु हो ।
बढी मेहनत र बढी काम गरी बढी आय गर्ने बाट बढी कर, राजस्व उठाई काम नगरी बस्नेलाई बाँढ्नु समाजवाद हो भने त्यो समाजवाद हामीलाई चाहिँदैन । युवाहरू समान अवसर र कामको सम्मान चाहनन्छन् । एउटा मन्त्रीले स्वविवेकले जति पनि, जहाँ पनि, कर लगाउन सक्ने, जस्तो पनि कर लगाउन सक्ने कर व्यवस्था अब जनताले स्वीकार्दैन । अत्यधिक कर, अनिश्चित कर हाम्रो समृद्धिको बाधक हो ।
एउटा सानो परिवार, तिनको सुनिश्चित भविष्य, स्तरीय शिक्षा, स्वास्थ्य सेवाको उपलब्धता र सरकारी सेवाको सहजता, काममा समान अवसर, बढी मेहनत बढी आय, आफ्नै एउटा बासस्थान, आफ्नै एउटा गाडी, पाँच दिन काम, दुई दिन आराम युवाको यही हो सपना । गलत काम गर्नै नसक्ने, कसैले दण्ड भागी हुने, सही काम गरेर बाँच्ने वातावरण सबैको चाहाना हो । यसमा हामी आउँदा दिनमा थप बहस गरौँला ।
अन्तमा, यो व्यापारिक मेला महोत्सवमय बनाउन हाम्रो सानो तर सशक्त टीमका साथीहरूको दिनरातको अथक परिश्रम, नि:श्वार्थ मेहनतका साथै सबै शुभचिन्तकहरूबाट प्राप्त तन, मन, धन साथ भएको आर्थिक तथा भौतिक सहयोगबाट मात्र सम्भव भएको हो । यो महोत्सव र मेला अझ बढी भव्य बनाउन केही सुझाव भए पाउने आशा गर्दै, यहाँको अनुभव रमाइलो र श्रृजनशील बनोस् भन्दै केही कमी कमजोरी रहेमा औँल्याइदिनुहुन समेत अनुरोध गर्दछु । आउने वर्ष सुधार गर्ने बचन व्यक्त गर्दछु ।
(नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) का अध्यक्ष दिनेश श्रेष्ठले ‘काठमाडौं बिजनेश एक्सपो, २०२६’को उद्घाट समारोहमा व्यक्त मन्तव्य । –२०८२/१०/१४)
FACEBOOK COMMENTS