नेपालको आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्र सङ्घीय राजधानी काठमाडौं केवल धार्मिक, सांस्कृतिक र राजनीतिक केन्द्र वा पहिचानको सहर मात्र होइन, यो देशकै आर्थिक मेरुदण्ड पनि हो ।
यहाँ उत्पादन, सेवा, व्यापार, सूचना प्रविधि, पर्यटन, निर्माण क्षेत्रका साना तथा मझौला उद्यमदेखि ठूला ‘कर्पोरेट हाउस’हरू र उत्पादनमूलक उद्योगहरूको बाक्लो उपस्थिति छ । तर, पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दी र आन्तरिक संरचनागत कमजोरीका कारण काठमाडौंका उद्योग व्यवसायहरू एक किसिमको ‘पर्ख र हेर’ को पीडादायी अवस्थाबाट गुज्रिरहेका छन् । अर्थात् सम्भावना भन्दा बढी सङ्कट र अनिश्चिततामा अल्झिरहेका छन् ।
काठमाडौंका उद्योग–व्यवसायहरू चलायमान त छन्, तर यहाँका सडक र व्यापारिक मलहरूमा अघिल्ला वर्षहरूको जस्तो चहलपहल छैन । उपभोक्ताको क्रयशक्तिमा आएको ह्रास र उतारचढावयुक्त ब्याजदरका कारण धेरै उद्योगहरू आफ्नो क्षमताको ५० प्रतिशतभन्दा कममा सञ्चालन हुन बाध्य छन् ।
घरभाडाको बढ्दो बोझ र न्यून मागका कारण कैयौँ सटरहरू बन्द भएका छन् भने कतिपय व्यवसायीहरू पलायन हुने अवस्थामा समेत पुगिसकेका छन् । यहाँ बजार छ, उपभोक्ता छन्, श्रम शक्ति पनि छ । तर, निरन्तर बढ्दो लागत तथा नाफामा आएको सङ्कुचनले लगानीको आत्मविश्वास कमजोर बनाएको छ । यसकारण साना तथा मझौला उद्योगहरू अस्तित्व जोगाउन सङ्घर्षरत छन् भने ठूला उद्योगहरू सेवा विस्तारभन्दा संरक्षणमा केन्द्रित हुन थालेका छन् ।
नेपाली उद्योग व्यवसायको क्षेत्रमा अहिले मुख्यतया तरलताको अभाव, अस्थिर नीति, कर प्रणालीको जटिलता र झन्झटिलो प्रशासनिक प्रक्रिया र आयातमुखी अर्थतन्त्र प्रमुख चुनौतीका रूपमा उभिएका छन् । साथै, कमजोर पूर्वाधार, ऊर्जा र ढुवानी लागत, दक्ष जनशक्तिको पलायन, उपभोक्ताको क्रयशक्ति घट्नुलगायत पनि चुनौतीका रूपमा खडा भएका छन् । पुँजीगत खर्चमा ढिलाइ हुनु, कच्चा पदार्थको मूल्यवृद्धि भइरहनु र दक्ष जनशक्तिको पलायनका कारण यी चुनौतीहरू प्रकट भएका हुन् ।

समृद्धिको प्रस्थानविन्दु ‘काठमाडौं बिजनेस एक्स्पो’

यस्तो निराशाजनक वातावरणका बीच नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके)ले आयोजना गरेको प्रथम काठमाडौं बिजनेस एक्सपो समृद्धिको प्रस्थानविन्दु बन्ने प्रयास गरेको छ । किनकि यो एक्स्पो केवल व्यापारिक प्रदर्शनी मात्र नभइ उद्योग–व्यवसाय पुनर्जीवनका लागि संवाद र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा प्रयोग भएको पाइयो । त्यसर्थ सम्पूर्ण उद्योगी, व्यापारी, लगानीकर्ता, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवाद, स्वदेशी उत्पादनको प्रवर्द्धन, नवप्रवर्तन र नेटवर्किङमार्फत एक्स्पोले बजार विस्तार र आत्मविश्वास पुनर्निर्माणमा योगदान पुर्याएको छ । यो एक्सपोले स्वदेशी उत्पादनको बजारीकरण, स्टार्टअप र साना व्यवसायीलाई लगानीकर्तासँग जोड्ने प्लेटफर्म प्रदान गर्ने र सुस्ताएको बजारमा आर्थिक चलायमान ल्याउन मद्दत गरेको छ ।

यो अभियानमा एनसीआईसीकेको महत्वपूर्ण भूमिका रहँदै आएको छ । पछिल्लो समय यसले देखाएको सक्रियता स्वागतयोग्य त छँदैछ, समग्र निजी क्षेत्रका आवाजलाई एकीकृत गर्दै नीति संवाद, व्यवसाय प्रवर्द्धन र समस्या समाधानका लागि पुलको भूमिका समेत खेलिरहेको छ । तसर्थ, एनसीआईसीकेको यो सक्रियता प्रशंसनीय छ । काठमाडौं बिजनेस एक्स्पोलाई एउटा उत्सवका रूपमा मात्र नलिई आर्थिक क्रान्तिको सुरुवातका रूपमा लिइनुपर्छ ।

जबसम्म राजधानीको आर्थिक मुटु सवल बन्दैन, तबसम्म देशको समग्र अर्थतन्त्रले गति लिन सक्दैन । काठमाडौंका उद्योग–व्यवसाय सङ्कटमा भएको कुरा विश्वास नगरी अवस्थालाई नजरअन्दाज गरियो भने त्यसले भावी दिनमा सम्पूर्ण अर्थतन्त्रलाई प्रभावित तुल्याउन सक्छ । त्यसकारण राज्य र निजी क्षेत्रको सहकार्य नै आजको आवश्यकता हो । जसले सहुलियतपूर्ण कर्जा, नीतिगत स्थिरता र एकद्वार प्रणालीका लागि प्रभावकारी पहल गर्नु आवश्यक छ ।

काठमाडौंको मात्र होइन मुलुककै अर्थतन्त्रलाई मजबुत बनाउनका लागि उद्योगमैत्री र दीर्घकालीन आर्थिक नीति निर्माण गरिनु, साना तथा मझौला उद्योगका लागि सहुलियतपूर्ण वित्तीय पहुँच सुनिश्चित गरिनु, कर प्रणाली सरल, पारदर्शी र पूर्वानुमानयोग्य बनाइनु, निजी क्षेत्रलाई निर्णय प्रक्रियामा सहभागी गराउने संयन्त्रलाई बलियो बनाइनु अतिआवश्यक छ । र, यस्ता एक्स्पोहरूको मञ्चबाट निस्कने निष्कर्षलाई सरकारी नीतिमा रूपान्तरण गरिनुपर्दछ ।
FACEBOOK COMMENTS