काठमाडौं । नेपाल उद्योग वाणिज्य संघको अयोजनामा ‘एनसीआईसीके डिजिटल एक्सपो– २०२४’ आजदेखि सुरु भएको छ । शुक्रबार एक कार्यक्रम गर्दै संघले सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माबाट ‘एनसीआईसीके डिजिटल एक्सपो– २०२४’ को सुरुवात गरेको हो ।
डिजिटल एक्सपो यही वैशाख १४ देखि जेठ १४ गतेसम्म सञ्चालनमा आउने आयोजकले जानकारी दिएको छ । उक्त एक्सपोमा स्वदेशी तथा वेदेशी गरी १५० वटा स्टल रहेको आयोजकले बताएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको आईटी क्षेत्रमा अथाह सम्भावना रहेको बताउँदै डिजिटल एक्स्पोबाट देशको आर्थिक गतिविधि चलायमान बनाउन सकिने बताएकी छिन् ।
सरकार र निजी क्षेत्र मिलेर देशमा आर्थिक विकास गर्न सम्भव हुने उनले बताइन् । उनले भनिन्, ‘उद्यमशीलता र रोजगार प्रवर्द्धन गर्न आउने बजेट बनाउन सबैले मलेर काम गर्नुपर्छ । देशको आर्थिक बिकासमा डिजिटल र प्रविधिको महत्व उच्च छ । त्यसैले यसको सहि सदुपयोग गरे स्थानीय उद्योगलाई योगदान पुर्याउने छ ।’
यस्तै, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) का अध्यक्ष दिनेश श्रेष्ठले सूचना प्रविधि सहज नहुँदा साना–साना व्यवसाय फस्टाउन नसकेको बताएका छन् । उनले भने, ‘नेपालीको संञ्चार प्रविधि उच्च विकासमा अग्रसर रहेको छ । सूचना प्रविधि सहज नहुँदा साना साना व्यवसाय फस्टाउन सकेको छैन । त्यसैले हामीले यसलाई ध्यानमा राखेर एक्सपो सञ्चालन गर्न लागेका हौँ । यसले घरेलु साना र ठुला नभई सबै व्यवसायलाई समेट्छ ।’
यो एक्सपोले डिजिटल असमानता कम गर्ने उनको भनाइ छ । आगामी दिनमा यसलाई अझै फस्टाउँदै लैजान सरकारलाई उनले आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले भष्टाचार कम गर्न अर्थतन्त्र डिजिटल रूपमा जानुपर्ने बताए । उनले भने, ‘नयाँ प्रविधिको यो सूरूवातले दशै भरिको संघ संस्थाहरूलाई सहज हुने छ । यस्तो मेलाले सबैलाई सहज र सरल हुने छ । अर्थतन्त्र सङ्कुचन रहेको अवस्थामा यसले केही भूमिका खेल्ने छ । आर्थिक समृद्धिमा युवालाई समेटन डिजटल प्रयोग नै गर्नु पर्छ ।’
साथै, नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले घर घरबाट चलेको अनलाइन विजनेसलाई कम गर्न नीति नियम ल्याउनु पर्ने बताए ।
‘अनलाइन व्यापार प्रवर्धन गर्न सरकारले पहल कदम चलानु पर्छ । घर घरमा अनलाइन विजनेश चलेको छ यसलाई कम गर्ने निति नियम ल्याउनु पर्छ,’ उनले भने, ‘ यसले गर्दा राजश्वमा चुवावट आइरहेको छ । मेला सञ्चालन जो कोहिले गरिरहेको छ । यसलाई कम गर्न संघ संस्थाले मात्र गर्न पाउनुपर्ने व्यवस्था गर्नुपर्छ ।’
विभिन्न संघ संस्थाले मेला सञ्चालन गर्न सकिरहेको छैन । अब यो डिजिटल मेलाले सबै संघ संस्थाले मेला सञ्चालन गर्न सक्ने उनको भनाइ छ ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका मेला प्रदर्शनी तथा प्रकाशन समितिका सभापति उज्वल जंग शाहले हाम्रो उत्पादनलाई बेच्ने एक मात्र माध्यम भनेको डिजिटल एक्सपो रहेको बताए ।
उनले भने, ‘डिजिटल युगको सदुपयोग गरेर हामीले यो एक्सपो आयोजना गरेको छौँ । प्रदर्शनीसँगै समाजलाई पनि कसरी अगाडि बढाउन सकिन्छ भन्ने सोच्न जरुरी छ । यसरी भर्चुअल प्रदर्शनी गर्दा ग्राहक र व्यवसायी दुवैलाई फाइदा हुन्छ । यसले हरेक क्षेत्रको उत्पादनलाई सहज रुपमा विक्रि वितरण गर्न सक्छौँ । सहज रुपमा घरमै बसेर उत्पादनहरुको अवलोकन गर्न सकिन्छ ।’
FACEBOOK COMMENTS