काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) ले आगामी माघ १४ देखि १७ गतेसम्म ‘काठमाडौं बिजनेस एक्सपो, २०२६’ आयोजना गर्ने भएको छ ।
नेपालको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा रहेका काठमाडौं उपत्यकाको पहिचानलाई अझ सबल र सशक्त बनाउँदै यहाँको मौलिक वस्तु तथा सेवाको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले एक्सपो आयोजना गर्न लागिएको संघले जनाएको छ ।
आज बिहीबार कमलपोखरीस्थित सिटी सेन्टरमा पत्रकार सम्मेलन गरी एक्सपोबारे जानकारी दिइएको हो । काठमाडौंको ऐतिहासिक स्थान भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा हुने एक्सपो भव्य, व्यवस्थित र आकर्षक रूपमा सम्पन्न गर्ने तयारीमा आफूहरू जुटिरहेको संघका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नेपालको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा रहेका काठमाडौं उपत्यकाको पहिचानलाई अझ सबल बनाउन, स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यवसाय र नवप्रवर्तनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्न तथा उद्यमशीलता, स्टार्टअप, घरेलु तथा साना उद्योगहरूलाई बजार, अवसर र दृश्यता प्रदान गर्न एक्सपो आयोजना गर्न लागिएको हो ।
करिब २०० अत्याधुनिक र व्यवस्थित व्यावसायिक स्टलहरूको सहभागिता रहने महोत्सवमा स्थानीय उत्पादन र सेवाहरूको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड–फेस्ट, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विभिन्न रूपहरूको प्रदर्शन, विषयगत झाँकी, पर्यटन प्रवर्द्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविरलगायत आकर्षक तथा उपयोगी गतिविधिहरू समावेश गरिने बताइएको छ ।

एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको एक्सपोले स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, काठमाडौं उपत्यकाको सांस्कृतिक तथा पर्यटन पहिचानको सुदृढीकरण, व्यावसायिक नेटवर्किङ विस्तार, नयाँ उद्यमी तथा स्टार्टअपलाई प्रेरणा तथा सञ्जाल प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिएको संघका महासचिव दुर्गा राज श्रेष्ठले जानकारी दिए ।

स्वदेशी औद्योगिक उत्पादन कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स/होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन र मेसिनरी, फर्निचर, फूड एण्ड बेभरेज, सूचना प्रविधि, ट्राभल एण्ड टुर सेवा, रियल इस्टेट, हर्बल तथा अर्ग्यानिक उत्पादन, बैंक तथा वित्तीय संस्था र जिल्लागत विशेष उत्पादनजस्ता विविध व्यावसायिक क्षेत्रहरूबाट प्रदर्शकहरूको सहभागिता रहने उनले बताए । महोत्सवलाई वृहत् राष्ट्रिय व्यापारिक मञ्चका रूपमा रूपान्तरण गर्ने विश्वास लिइएको उनको भनाइ छ ।

यस्तै, संघका सूचना तथा प्रकाशन समिति सभापति उज्वल जंग शाहले एक्स्पोमा आम सर्वसाधारणदेखि उद्यमी, व्यवसायी, युवा–उद्यमी, विद्यार्थी, स्टार्टअपहरू, पर्यटक, फुड–लवर्स, अन्तर्राष्ट्रिय पाहुना, आयात–निर्यात व्यवसायी, रिटेलर तथा कला–संस्कृति पारखीहरूको उल्लेखनीय सहभागिता रहने बताए ।

महोत्सवको सफलता, प्रभावकारिता र व्यापक पहुँचलाई सुनिश्चित गर्न टाइटल, डायमण्ड, गोल्ड र सिल्भर स्पोन्सर तथा एक्जिविसन पार्टनर र विशेष सर्पोटिङ प्याकेजहरूसहित प्रायोजनका अवसरहरू पनि खुल्ला गरिएको उनले बताए । जसमा सहभागी संस्थाहरूलाई मिडिया प्रमोशन, डिजिटल क्याम्पेन, टीभी/रेडियो तथा प्रिन्ट विज्ञापन, बाहिरी होर्डिङ, ब्यानर, ग्राउन्ड एक्टिभेशनलगायतका विस्तृत प्रचार–प्रसार सुविधाहरू प्रदान गरिने शाहले जानकारी दिए ।

संघले महोत्सवसम्बन्धी समाचार सामग्री तथा सूचनाहरूलाई आफ्ना प्रतिष्ठित सञ्चारमाध्यममा प्राथमिकतासहित प्रकाशन तथा प्रसारण गरिदिन पनि आग्रह गरेको छ ।
FACEBOOK COMMENTS