काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) ले पहिलोपटक आयोजना गरेको ‘काठमाडौं बिजनेश एक्सपो’ भव्यरूपमा सम्पन्न भएको छ । भृकुटीमण्डपको प्रदर्शनी हलमा गत बुधबार सुरू भएको चारदिने एक्सपो हिजो शनिबार सम्पन्न भएको हो ।
काठमाडौं उपत्यका केवल प्रशासनिक राजधानी मात्र नभई आर्थिक, सांस्कृतिक र पर्यटकीय केन्द्र भएको तथा एक्सपोमार्फत स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखेर पहिलो पटक आयोजना गरिएको एक्सपो सभ्य, भव्य र उत्साहपूर्णरूपमा सम्पन्न भएको संघका मेला समिति सभापति उज्वल जंग पराक्रम शाहले जानकारी दिए । काठमाडौंको पहिचानलाई थप मजबुत बनाउने संघको दीर्घकालीन सोचअनुरूप आयोजित एक्सपोमा अपेक्षा भन्दा धेरै अवलोककर्ताको उपस्थिति रहेको पनि उनले बताए ।
उनका अनुसार चार दिनसम्म सञ्चालन भएको एक्सपोमा सर्वसाधारण, व्यवसायी, उद्यमी, युवा उद्यमी, विद्यार्थी, स्टार्टअप, पर्यटक, फुड लभर्स, आयात–निर्यात व्यवसायी, रिटेलर तथा कला–संस्कृति पारखीहरूसहित एक लाखभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको थियो । एक्स्पोमा अपेक्षा पूरा हुनाका साथै अन्य धेरै अवलोकनकर्ताको उत्साहपूर्ण सहभागिता रहेको सभापति शाहले जानकारी दिए । ‘दर्शकको यो स्तरको उपस्थितिले हामीलाई अत्यन्तै उत्साहित बनाएको छ,’ सभापति शाहले भने ।
उनले मेलामा सहभागी सबैलाई धन्यवाद ज्ञापन पनि गरेका छन् । ‘मेला समितिको सभापति हुन पाउनु मेरो लागि अत्यन्त गौरवको विषय हो,’ सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गर्दै सभापति शाहले भनेका छन्, ‘अध्यक्षज्यू, वरिष्ठ उपाध्यक्षज्यू, उपाध्यक्षज्यू, महासचिवज्यू, सचिवज्यू, कोषाध्यक्षज्यू तथा कार्यकारिणी सदस्यज्यूहरू, मेला समितिका सह–सभापतिज्यू, सम्पूर्ण सदस्य साथीहरू, सचिवालयका सहकर्मीहरू, सह–आयोजक, प्रायोजक तथा एक्जिबिटर साथीहरू, कलाकार साथीहरू एवम् कार्यक्रम सफल बनाउन प्रत्यक्ष/परोक्ष योगदान पुर्याउनु हुने सम्पूर्ण महानुभावहरूमा तपाईंहरूको अमूल्य सहयोग, समर्थन र समर्पणका लागि हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु ।’
यस्तै, संघका अध्यक्ष दिनेश श्रेष्ठले पनि महोत्सवलाई सफल बनाउन सहयोग गर्ने प्रदर्शक, प्रायोजक र अवलोकनकर्ताप्रति धन्यवाद आभार व्यक्त गरेका छन् । उनले एक्सपोबाट संघीय तथा प्रशासनिक राजधानीको आर्थिक गतिविधिलाई बढावा दिन भरपूर योगदान पुगेको विश्वास व्यक्त गरेका छन् । पहिलो एक्सपो सफलतासँगै त्यसबाट आफूहरू उत्साहित भएको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले उत्साहित हुँदै भने, ‘आगामी वर्ष अझ परिष्कृत रूपमा मेलालाई निरन्तरता दिनेछौँ ।’

उनले संघका तर्फबाट थप भनेका छन्–


उद्यमशीलता, नवप्रवर्तन र काठमाडौंको आर्थिक पुनर्जागरणको मञ्च बन्यो ‘काठमाडौं बिजनेस एक्सपो, २०२६’

स्थानीय उत्पादनको बजार विस्तारदेखि स्टार्टअप र साना उद्योगको प्रवद्र्धनसम्म, काठमाडौंको आर्थिक, सांस्कृतिक र पर्यटकीय पहिचानलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) ले आयोजना गरेको बहुआयामिक ‘काठमाडौं बिजनेस एक्सपो, २०२६’ केवल व्यापारिक प्रदर्शनी मात्र नभई उद्यमशीलता, नवप्रवर्तन र सांस्कृतिक उत्सवको सङ्गम बनेको अनुभूति भएको छ । एक्सपो सफल बनाउन तल उल्लेखित आधार, कारण र योजनाहरूले काम गरेको स्पष्ट देखिन्छ ।

एस्पोको उद्देश्य : काठमाडौं उपत्यका केवल प्रशासनिक राजधानी मात्र नभई आर्थिक, सांस्कृतिक र पर्यटकीय केन्द्र पनि हो । यही पहिचानलाई थप मजबुत बनाउने संघको दीर्घकालीन सोच थियो । एक्सपोमार्फत स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन र उद्यमशीलताको प्रवद्र्धन गर्नु मुख्य उद्देश्य थियो । विशेषगरी घरेलु तथा साना उद्योग, स्टार्टअप र नयाँ उद्यमीहरूलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ र ब्रान्ड प्रदर्शको उपयुक्त थलो बनाउने लक्ष्य थियो ।
व्यवसायी र उद्यमीलाई विशेष अवसर : राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित करिब २०० भन्दा बढी अत्याधुनिक र व्यवस्थित व्यावसायिक स्टलहरू रहेको एक्सपोले व्यवसायीहरूलाई आफ्ना उत्पादन र सेवाहरू प्रत्यक्ष रूपमा उपभोक्ता, लगानीकर्ता तथा व्यावसायिक साझेदारहरूसामु प्रस्तुत गर्ने अवसर दियो । बजार परीक्षण, ब्रान्ड प्रमोशन, नयाँ व्यावसायिक सहकार्य र सम्भावित लगानीका ढोका खोल्ने प्लेटफर्मको रूपमा एक्सपो उपयोगी बनेको देखियो ।
प्रदर्शनीबाहेकका गतिविधि : यो केवल व्यापारिक प्रदर्शनी मात्र नभइ बहुआयामिक महोत्सवमा परिणत भएको थियो । रैथाने खानाको प्रतियोगिता, फुड फेस्टिभल, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विविध प्रस्तुति, विषयगत झाँकी, पर्यटन प्रवद्र्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविरजस्ता कार्यक्रमहरू समावेश थियो । जसले एक्सपोलाई पारिवारिक बनाउनाका साथै युवा, पर्यटक र व्यवसायी सबैका लागि आकर्षक बन्यो । यस्तै, रक्तदान कार्यक्रम र साना तथा मझौला उद्योगीहरूको समस्या बुझ्न छलफल कार्यक्रमको आयोजना गरिएको थियो भने काठमाडौं जिल्लाभित्रका धार्मिक, सांस्कृति र ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचार–प्रसार र प्रवर्द्धन पनि गरिएको थियो ।
ख्यातीप्राप्त कलाकारहरूको उपस्थिति : महोत्सव सुरू भएकै दिनदेखि हरेक दिन विभिन्न क्षेत्रका ख्यातीप्राप्त सांगितिक कलाकर्मीहरूको जमघट रहेको थियो । जस्तो उद्घाटनका दिन माघ १४ गते आनन्द कार्की, अमृत क्षेत्री र अमृता लिम्बुको प्रस्तुति, दोस्रो दिन माघ १५ गते दीपक लिम्बु, प्राश्ना शाक्य, रविन महर्जन र अमुक लामा, तेस्रो दिन माघ १६ गते खुमन अधिकारी, रेखा शाह, इन्द्रकला राई, कमल खत्री र पूर्वी मगर तथा चौथो तथा अन्तिम दिन माग १७ गते निशा देशार, भिम लिम्बु र बिनोद ढकालको प्रस्तुति रहेको थियो । साथै, लाइभ ब्याण्ड ‘बिनय कार्की थुङ्गा ब्याण्ड’को पनि यहाँ प्रस्तुति रहेको थियो । मानिसहरू त्यहाँ पनि झुमिरहेका देखिन्थे ।
स्थानीय अर्थतन्त्रमा प्रभाव : स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसर सिर्जना, रोजगारीका अवसर वृद्धि र समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नु यो महोत्सवको मुख्य लक्ष्य नै थियो । विशेषगरी काठमाडौँ महानगरपालिकाको ‘एक वडा, एक नमूना उत्पादन’ अवधारणासँग सहकार्य गर्दै ती उत्पादनहरूको प्रदर्शनी व्यापक थियो ।
विविधिकृत प्रदर्शनकर्ता : एक्सपोमा कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन तथा मेसिनरी, फर्निचर, फूड एण्ड बेभरेज, सूचना प्रविधि, ट्राभल तथा टुर सेवा, रियल इस्टेट, हर्बल तथा अग्र्यानिक उत्पादन, बैंक तथा वित्तीय संस्था, बीमा, स्वास्थ्य, सौन्दर्य, निर्यात–आयात तथा जिल्लागत विशेष उत्पादनलगायत विविध क्षेत्रका प्रदर्शकहरू सहभागी थिए । जसले सबैथरी इच्छा भएका अवलोकर्ताको ध्यान खिच्न सफल भयो । एक प्रकारले नुनदेखि–सुनसम्म एकै छानामुनि पाइएको थियो ।
बलिया प्रायोजक र सहकार्य : एक्सपोको प्रभावकारिता र पहुँच बढाउन विभिन्न तहका प्रायोजन प्याकेजहरू ल्याइएको थियो । जसले एक्सपोलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्यो । आइडिया फर वल्र्ड टाइटल स्पोन्सर, एईसीसी ग्लोबल प्रिजेन्टेड बाइ र स्वारी नेपाल पावर्ड बाइ रहेका थिए । कजारिया टाइल्स, साल्ट ट्रेडिङ कर्पोरेशन, फेसियल हाउस, श्रीनाथ कलेक्सनलगायतका प्रतिष्ठित संस्थाहरू को–स्पोन्सरका रूपमा जोडिएका छन् । यसबाट एक्सपोको विश्वसनीयता र महत्व बलियो रहेको प्रमाणका रूपमा प्रस्तुत भएका थिए ।
यसैगरी अग्नी इक्जिम लिमिटेड ‘इक्जिम पार्टनर’, एनएमबि बैंक बैंकिङ पार्टनर, नेको इन्स्योरेन्स ‘इन्स्योरेन्स पार्टनर’, भरोसा सर्भिस प्रालि ‘क्लिनिङ पार्टनर’, हिट्को प्रालि ‘फायर सेफ्टी पार्टनर’, मैनाली इन्डष्ट्रीज प्रालि ‘हाइजिन पार्टनर’, जेरोना वेलनेस प्रालि ‘स्किन केयर पार्टनर’, जिल्ला होटेल व्यवसायी संघ काठमाडौं ‘फुड कोर्ट पार्टनर’ रहेका थिए ।
त्यस्तै, क्वान्टम इन्फोटेक एण्ड कनेक्ट सोलुसन प्रालि ‘बेभरेज एण्ड फुड पार्टनर’, लभाज्जा ‘कफी पार्टनर’, डिभिल्ला ‘पास्ता पार्टनर’, सीसीटीभी नेपाल ‘सीसीटीभी पार्टनर, ए एण्ड बी बेभरेज इन्डष्ट्रीज प्रालि ‘ड्रिङ्किङ वाटर पार्टनर’, डाटाहब ‘क्लाउड एण्ड होस्टिङ पार्टनर’ र ओप्सोरी ओमन डेभलपमेन्ट अर्गनाइजेशन ‘मार्केटिङ पार्टनर’ रहेका थिए ।
सहभागी संस्थाहरूलाई मिडिया प्रमोशन, डिजिटल क्याम्पेन, टीभी/रेडियो तथा प्रिन्ट विज्ञापन, बाहिरी होर्डिङ, ब्यानर, ग्राउन्ड एक्टिभेशनलगायतका विस्तृत प्रचार–प्रसार सुविधाहरू प्रदान गरिएको थियो । जसले सहकार्यको पक्षलाई सशक्त र बलियो बनाएको थियो ।
सर्वाधिक समर्थन : महोत्सवलाई काठमाडौँ जिल्लाभित्रका नगरपालिकाहरू, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग वाणिज्य संघ बागमती प्रदेश, नेपाल पर्यटन बोर्ड, नेपाल वितरक संघ, ट्रेड, एक्स्पोर्ट एण्ड प्रमोशन सेन्टर, ललितपुर चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीज, हस्तकला महासंघ, रिद्धिसिद्धि ज्वेलर्स, बजार अटो लिमिटेड, सामाजि सुरक्षा कोष, आइडियल इन्स्टिच्युट फर फेशन टेक्नोलोजीलगायतको समर्थन रहेको थियो । यसले आयोजकलाई उत्साह थपेको थियो ।
उद्घाटन शैली पृथक र ऐतिहासिक : यो एक्सपोको उद्घाटन शैली अरुभन्दा भिन्न र ऐतिहासिक रहेको थियो, जसले सबैको ध्यान खिच्यो । बसन्तपुरस्थित कुमारी घरमा पूजाआजापछि सोही स्थानदेखि कार्यक्रमस्थल भृकुटीमण्डपसम्म प्रचारात्मक झाँकी र र्याली निकालिएको थियो । उक्त र्याली भृकुटीमण्डप पुगेपछि औपचारिक उद्घाटन समारोह गरिएको थियो । यसले काठमाडौंको सांस्कृतिक पहिचान र व्यावसायिक ऊर्जा दुवैलाई एकसाथ प्रस्तुत गरेको आभाष दिलाएको थियो ।
सञ्चारकर्मीसँग मित्रवत व्यवहार : एक्सपोलाई सफल बनाउन प्रचार–प्रसारमा सञ्चारमाध्यमहरूको भूमिका महत्वपूर्ण रहेको थियो । यो कुरालाई आयोजक एनसीआईसीले पहिल्यै अनुभूत गरी सञ्चारमाध्यम र सञ्चारकर्मीहरूसँग बलियो सहकार्य गर्यो । उसले सम्पूर्ण सञ्चारकर्मी र सञ्चारमाध्यमहरूलाई सक्रिय सहयोग र प्रचार–प्रसारका लागि बारम्बार अपिल गर्दै आएको थियो ।
हेर्नुहोस् ३८ तस्बिर
FACEBOOK COMMENTS