काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) ले असोज मसान्तभित्र बुझाउनुपर्ने राजस्वबापतको रकम बुझाउन उद्योगी–व्यवसायीहरू असमर्थ रहेको रहेको बताएको छ ।
पछिल्लो एक महिनामा भएका आन्दोलन, आगजनी र तोडफोड, बेमौसमी वर्षाले निम्त्याएको बाढीपहिरोलगायत घटनाक्रमहरूले समग्र औद्योगिक, व्यापारी र सेवा क्षेत्रहरूमा गम्भीर असर पारेको भन्दै उद्योगी–व्यवसायीहरू असोज मसान्तभित्र बुझाउनुपर्ने कर तथा राजस्व तिर्न असमर्थ रहेको जानकारी संघले दिएको हो ।
‘विभिन्न कारणबाट बजारमा आएको नगद प्रवाहमा आएको कमी, बक्यौदा सङ्कलनमा गिरावट र लगानीकर्ता तथा उपभोक्ताको मनोबलमा आएको नकारात्मक प्रभावले उद्योगी तथा व्यवसायीहरू किंकर्तव्यविमूढ हुने अवस्था सृजना भएको छ,’ संघले आज सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपालमा ठूला चाडपर्वहरू छिटो पर्दा असोज मसान्तसम्मको दुई महिनाको तलब, दसैँ खर्च, बैंक व्याज र साँवा, चालू पुँजी कर्जाको किस्ता, कर तथा राजस्व बुझाउनुपर्ने समय एकैपटक परेका कारण उद्योगी–व्यवसायीहरू असोज मसान्तभित्र बुझाउनुपर्ने कर तथा राजस्व तिर्न असमर्थ छ ।’
उद्योगी–व्यवसायीका विद्यमान समस्यालाई दृष्टिगत गरी एक पटकका लागि चालू आर्थिक वर्षको असोज मसान्तभित्र बुझाउनुपर्ने कर तथा राजस्वबापतको रकम दुई महिनापछि अर्थात् मंसिर मसान्तसम्मको समयावधि कायम गर्न संघले सरकारसँग् आग्रह गरेको छ । उक्त सुविधा गत आर्थिक वर्षको असार मसान्तसम्मका नियमित ग्राहकहरूको हकमा मात्रै लागू गरिनुपर्ने पनि संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति–
FACEBOOK COMMENTS