काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन– २०८२ लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीले आफ्नो चुनावी अपिल सार्वजनिक गरेको छ ।
पार्टीले २२ वटा कम्युनिष्ट तथा समाजवादी समूह एकीकृत भई तारा चुनाव चिन्हमार्फत निर्वाचनमा सहभागी भएको बताउदै राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।
संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले जारी गरेको अपिलमा संविधान जनताको संघर्षबाट प्राप्त उपलब्धि भएकाले यसको प्रभावकारी कार्यान्वयन र आवश्यक सुधार संवैधानिक प्रक्रियाअनुसार गरिनुपर्ने धारणा पनि अपिलमा उल्लेख गरिएको छ ।
चुनावी घोषणामा भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना, पारदर्शिता प्रवद्र्धन तथा सार्वजनिक पदधारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने योजना अघि सारिएको छ। साथै खर्चिलो र जटिल निर्वाचन प्रणाली सुधार गरी स्थिर सरकार निर्माणको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
पार्टीले कृषि, उद्योग, ऊर्जा र पर्यटन क्षेत्रको विकासमार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिने जनाएको छ। सामाजिक विभेद, छुवाछुत, अन्धविश्वास तथा असमानताको अन्त्य गर्दै शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गर्ने समाजवाद उन्मुख आर्थिक– सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्ने लक्ष्यसमेत प्रस्तुत गरिएको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा देशको अवस्था परिवर्तन गर्ने अवसर दिन मतदातासँग पार्टीले आग्रह गरेको छ ।

FACEBOOK COMMENTS