काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने चार वटा उद्योगको लाइन काटेको छ ।
प्राधिकरणले आज शुक्रबार जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको हो ।
प्राधिकरणका अनुसार जगदम्बाले ४ अर्ब १४ करोड, घोराहीले १ अर्ब ३६ करोड,रिलायन्सले १ अर्ब ९४ करोड र अर्घाखाँचीले १ अर्ब ३० करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । बाँकी बिल भुक्तानी गर्न पटक पटक ताकेता गर्दा पनि नमानेपछि उद्योगको लाइन काटेको प्राधिकरणले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार मात्रै त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका थिए । उनले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिनुभए लगत्तै आज प्राधिकरणले केही उद्योगको लाइन काटिदिएको हो ।
साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो । प्राधिकरणका अनुसार, जगदम्बा स्टील, रिलायन्स स्पीनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको छ ।
पटकपटक आग्रह गर्दा बक्यौता तिर्न अटेर गरेकाले उनीहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ । महालेखापरीक्षकका पछिल्ला प्रतिवेदनमा समेत बक्यौता महसुल उठाउन पटकपटक प्राधिकरणलाई निर्देशन दिइएको थियो । संसद्का विभिन्न समितिले पनि यसअघि नै महसुलका विषयमा चासो राख्दै तत्काल असुल उपर गर्न निर्देशन दिएका थिए ।
FACEBOOK COMMENTS