काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइन महसुल नबुझाउने बुटवल तथा भैरहवामा रहेका १० वटा उद्योगको विद्युत लाइन काटिदिएको छ ।
प्राधिकरणले एसआर स्टिल, एसआर फुड, भलबारी स्वचालित चामल कारखाना, पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेष्ट रोलिङ, घराना फुड्स्, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट,र श्याम प्लास्टिक उद्योगको लाइन काटेको हो ।
प्राधिकरणले चार वर्षसम्म अतिरिक्त महसुलको बिल नपाएको, नियमित महसुल तिर्दै आए पनि चारवर्षपछि महँगो महसुल जोडेर बिल पठाएको भन्दै उद्योगीहरुले प्रमाण मागिरहेका छन् । बिना प्रमाण महसुल तिर्न नसकिने जनाएका छन् ।
विगतमा ट्रंक लाइन मार्फत उपभोग गरिएको विद्युत् प्रिमियम बक्यौता पुनरावलोकन गर्न गठित समितिमा उद्योगहरूले माघ २०७२ देखि वैशाख २०७५ सम्मको बक्यौताका विषयमा पुनरावलोकनका लागि निवेदन दर्ता गरी बक्यौताको ५ प्रतिशत रकम नगद वा बैंक ग्यारेन्टीका रूपमा जम्मा गरिसकेका जनाएका छन् ।
उक्त समितिमा बुटवल–भैरहवा करिडोरका करिब एक दर्जन उद्योगले ५ प्रतिशत रकम धरौटी सहित पुनरावलोकन निवेदन दिएका थिए । पुनरावलोकनमा गएका उद्योगी आफूहरूले माग र प्रयोग नगरेको ट्रंक लाइन महसुल तिर्न नपर्नेमा ढुक्क रहेकामा समिति नै बदर गरिनु बदनियत र अन्यायपूर्ण भएको बताउँदै आएका छन् ।

भौतिक रूपमा ट्रंक लाइनको परिभाषामा पर्न गएको देखिए पनि प्रिमियम दरमा महसुल लिन ६ घण्टाभन्दा बढी लोडसेडिङ र कम्तीमा २० घण्टाभन्दा बढी निरन्तर विद्युत् आपूर्ति हुनुपर्ने कानुनी मापदण्ड छ । विवादित अवधिमा ६ घण्टाभन्दा बढी लोडसेडिङ भएको र उद्योगहरूले २० घण्टा निरन्तर विद्युत् आपूर्ति नपाएको उद्योगीहरुको दाबी छ ।

उद्योगीलाई जबरजस्ती महसुल तिराउन खोजिए डेढ दर्जन उद्योग स्थायी रूपमा बन्द हुने अवस्था आउने र करिब २० देखि २५ हजार श्रमिक बेरोजगार बन्ने खतरा रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका अधिकारीहरुको भनाइ छ ।

FACEBOOK COMMENTS