काठमाडौं । सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरूको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो । यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले शहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ शहर अभियान’ सञ्चालन गर्ने भएको छ ।
सरकारको घोषित उज्यालो नेपाल अभियानलाई फरक ढंगले अगाडि बढाउने लक्ष्यका साथ प्राधिकरणले ‘उज्यालो शहर अभियान’लाई तीव्रता दिने भएको छ । त्यसका लागि विभिन्न नगरपालिकाकोे समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त अत्याधुनिक बत्ती (स्मार्ट लाइट) जडान गर्ने योजना तय भएको प्राधिकरणले जनाएको छ ।
यस्तो योजना कार्यान्वयनमा आएपछि शहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो योजना सुनाए । अघिल्लोपटक विद्युत्भार कटौतीको अन्त्यका लागि नेतृत्व गर्नुभएका घिसिङको ध्यान यसपटक सबैलाई गुणस्तरीय बिजुली र विद्युत् खपत बढाउने रहेको छ ।
यस्तै अभियानमा शहरी क्षेत्रमा रहेका अनावश्यक खम्बा तथा तार हटाइन्छ । मुख्य तथा सहायक सडकमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरू हटाउने, तारहरूलाई भूमिगत गर्नेलगायत काम अगाडि बढाउन लागिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । पहिलो चरणमा उज्यालो र सफाइ शहर अभियान संघीय राजधानी काठमाडौं उपत्यका, भरतपुर एवं पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरि नै सञ्चालन गर्ने प्राधिकरणको योजना छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो कार्ययोजनामार्फत वितरण लाइन तथा सबस्टेशनको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने र शहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने घोषणा गरिन् । यही घोषणालाई कार्यान्वयन गर्न प्राधिकरणले ‘उज्यालो र सफाइ शहर अभियान’ चलाउन लागेको जानकारी दिइएको छ ।
सडकमा प्रयोगमै नरहेका अनावश्यक पोलहरू जताततै देखिन्छन्, त्यस्ता पोल हटाउन प्राधिकरणले शुरू गरिसकेको छ । विद्युतीय तारलाई भूमिगत बनाउन पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा धमाधम काम भइरहेको छ ।
‘शहरलाई कुरूप बनाएका विभिन्न सेवाप्रदायकको तारको जालोलाई हटाएर हाम्रै भूमिगत प्रणालीमा राखिनेछ । यसले सौन्दर्यको वृद्धि एवम् सफा शहर पनि बन्नेछ,’ घिसिङले भने, ‘हाल भइरहेको जमीन माथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र शहरलाई कुरूप बनाइरहेको तारको जालो हट्दा दुर्घटनाको जोखिम पनि कम हुनेछ । यसले शहरी सौन्दर्य कायम राख्न सहयोग पुग्ने भएकाले यसलाई देशका प्रमुख शहरहरूमा विस्तार गरिने प्राधिकरणले जानकारी दिएको छ ।’
प्राधिकरणले अहिले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम गरिरहेको छ । दोस्रो चरणमा काठमाडौंका बाँकी रहेका ठाउँहरू, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढ्नेछ । विद्युत्को तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवाप्रदायकहरूले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्ने आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS