काठमाडौं । देशको मौद्रिक नीति निर्धारण र कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी बोकेको नेपाल राष्ट्र बैंक गत चैत २५ यता नेतृत्वविहीन छ ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्त भए पनि सरकारले नयाँ गभर्नर नियुक्ति गर्न नसक्दा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा पुगेको हो । सत्तारुढ दलहरूबीच राजनीतिक सहमति नजुट्दा सरकारले नयाँ गभर्नर नियुक्ति प्रक्रियालाई मूर्तरूप दिन सकेको छैन ।
नयाँ गभर्नर नियुक्ति हुन नसकेपछि कायम मुकायम (कार्यवाहक) बनेर डेपुटी गभर्नर नीलम ढुङ्गानाले राष्ट्र बैंकको नेतृत्व सम्हालीरहेकी छिन् । तर, अझै पनि नयाँ गभर्नर तत्काल नियुक्ति हुने निकट सम्भावना देखिएको छैन ।
गभर्नर बन्ने दौडमा कार्यवाहक गभर्नर नीलम ढुङ्गाना, डेपुटी गभर्नर बमबहादुर मिश्र, राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएर बसेका अर्थशास्त्री डा. गुणाकर भट्ट, अर्थशास्त्री डा. प्रकाश कुमार श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी प्रमुख (सीईओ) बाट राजीनामा दिएर बसेका बैंकर ज्ञानेन्द्र ढुङ्गाना छन् । यस्तै, राष्ट्र बैंककै सञ्चालक रवीन्द्र प्रसाद पाण्डे र पूर्व मुख्यसचिव राजेन्द्र क्षेत्री पनि गभर्नरको दौडमा थिए ।
प्रतिस्पर्धीहरूमध्ये धेरैको नाममा दलहरूले बहस र छलफल गरिसकेका छन् । अब डा. गुणाकर भट्ट, बमबहादुर मिश्र र ज्ञानेन्द्र ढुङ्गानामध्ये कसलाई गभर्नर बनाउने भन्नेमा दलहरू अन्तिम कसरत गरिरहेको स्रोतको भनाइ छ ।
त्यसमध्ये पनि गुणाकर भट्ट सर्वसम्मत नाम हो । तर, गभर्नर बन्न कार्यकारी निर्देशकबाट उनको दिएको राजीनामा तीन हस्ता पुगिसक्दा पनि कार्यवाहक गभर्नर ढुङ्गानाले स्वीकृत गरेकी छैनन् । निर्देशकको राजीनामा स्वीकृतिविनै गभर्नर नियुक्ति गर्दा कानुनी जटिलता सृजना हुने भएकाले सत्तारुढ दलहरू विभिन्न विकल्पको खोजीमा लागेका छन् ।
डा. भट्टलाई नै गभर्नर बनाउन अब उनीहरू कार्यवाहक गभर्नर फेर्नेबारे छलफलमा केन्द्रित भएका छन् । नीलम ढुङ्गानाको ठाउँमा अरु कसैलाई कार्यवाहक बनाई भट्टको राजीनामा स्वीकृत गराउने तयारी थालिएको स्रोतको दाबी छ । त्यसका लागि उपयुक्त पात्र हुन् डेपुटी गभर्नर बमबहादुर मिश्र । उनलाई कार्यवाहक बनाएर डा. भट्टको राजीनामा स्वीकृत गराउने उत्तम विकल्प हो ।
तर, मिश्र अहिले नेपालमा छैनन् । व्यक्तिगत कामका लागि भन्दै दुई दिनअघि संयुक्त राज्य अमेरिका गएका छन् । उनी अमेरिकाबाट फर्किएपछि तत्काल कार्यवाहक गभर्नर बनाउने सरकारको तयारी छ । मिश्र जेठको २ वा ३ गते नेपाल आइपुग्ने र उनकै पर्खाइमा सरकार रहेको स्रोत बताउँछ ।
अर्कोतर्फ सरकारको सम्भावित ‘एक्सन’लाई बुझेर नीलमले मिश्रलाई ‘फोर्सफुल्ली’ विदा दिएर घुम्न पठाएकोसमेत बताउन थालिएको छ । त्यस आधारमा मिश्र ढिलो फर्किने हुन् कि भन्ने आशङ्का पनि पैदा गराएको छ ।
कानुनअनुसार सरकारले एक महिनाअघि नै गत फागुन २५ गते नयाँ गभर्नर नियुक्ति गरिसक्नुपर्ने थियो । तर, राजनीतिक सहमति नजुट्दा पद रिक्त भएको महिना दिन बितिसक्दा पनि गभर्नर नियुक्ति गर्न सकिएको छैन । समयमै गभर्नर नियुक्ति नहुँदा मौद्रिक नीतिको कार्यान्वयन, बैंकहरूको नियमन, वित्तीय स्थायित्व र समष्टिगत आर्थिक सन्तुलन कायम गर्नेलगायतका कामहरू प्रभावित हुँदै आएका छन् ।
वि.सं. २०१३ साल वैशाख १४ गते स्थापना भएको नेपाल राष्ट्र बैंकले खासगरी मुद्रा व्यवस्थापन, मोद्रिक नीति निर्माण, वित्तीय प्रणालीको नियमन, वैदेशिक मुद्रा विनिमय र राष्ट्रि बचत तथा लगानीको प्रोत्साहनलगायत कार्यहरू गर्दै आएको छ ।
FACEBOOK COMMENTS