काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएशनले गत पुस २५ र २६ गते काठमाडौंमा सम्पन्न नेपाल-भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आईजीसी) को बैठकले नेपाल-भारतबीचको लजिष्टिक्स तथा आपूर्ति शृंखलासम्बन्धी विभिन्न विषयहरूलाई सम्बोधन गरेकामा त्यसको स्वागत गरेको छ । साथै ती विषयहरू छिटो कार्यान्वयनमा ल्याउन पनि उसले सरकारसँग माग गरेको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै एसोसिएशन सचिवालयले बैठकका निर्णयहरूको स्वागत तथा तिनको शीघ्र कार्यान्वयनको माग गरेको हो ।
आईजीसी बैठकका लागि एसोसिएशनद्वारा प्रस्तावित सुझावहरूमध्ये काँकडभिट्टा-फूलबारी-बंगलाबन्ध हुँदै आवतजावत गर्ने नेपाली मालवाहक सवारी साधनलाई लगाइएको भारवाहन सीमा हटाई भारतीय मालवाहक गाडीसरह आवतजावत गर्न दिने, नेपालसँग नाका जोडिने सडकहरूको समयसमयमा मर्मतसम्भार, पूर्वाधारहरूको विकास, गुणस्तर परीक्षण, सर्टिफिकेशन तथा पारस्परिक मान्यता दिने जस्ता विषयहरू समावेश भएको र उक्त विषयहरूमा भारतीय पक्ष सहमत भएकामा आभार व्यक्त गर्दै भारत र नेपालबीचको सिमानापार कनेक्टिभिटीलाई सुदृढ गर्न निर्माणाधीन नयाँ एकीकृत चेक पोष्ट र रेलवे लिंक जस्ता पहलहरू स्वागयोग्य रहेको एसोसिएशनले जनाएको छ ।
अन्तरसरकारी समिति बैठकका लागि संघद्वारा प्रस्तावित बाँकी सुझावहरू नेपाल-भारतबीचको पारवाहन सन्धि संशोधनका साथ विराटनगर तथा भैरहवाबाट रेल सेवा, धाम्रा र मुन्द्र पोर्टको प्रयोग, कोलकाता एअरपोर्टबाट तेस्रो मुलुक सामान आयात गर्न पाउने व्यवस्था र सहज रूपमा मार्ग परिवर्तन गर्न पाउने व्यवस्था, नेपालगञ्ज नाकामा एकीकृत जाँच चौकी, काँकडभिट्टमा आईसीडी, दोधारा चाँदनी एकीकृत जाँच चौकीसम्म रेल सेवा विस्तार आदि विषयहरू लेटर अफ एक्सचेन्जमा समावेश भई छिटो कार्यान्वयनमा आउने आशा एसोसिएशनले व्यक्त गरेको छ ।
यस किसिमका अन्तरसरकारी बैठकहरूले नेपालको आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा दीर्घकालीन योगदान पुयाउने विश्वास एसोसिएशनले लिएको छ । साथै यस प्रकारका बैठकहरूको निरन्तरता र कार्यान्वयन पक्षलाई प्राथमिकता दिइने अपेक्षा गरेको छ ।
एसोसिएशनले यस क्षेत्रमा थप सहकार्य गर्न र नेपाल सरकारसँग हातेमालो गर्दै लजिष्टिक्स क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS