काठमाडौं । नेकपा एकीकृत समाजवादीले विचार र सिद्धान्त मिल्ने पार्टीसँग एकताको पहल गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी रहेको निष्कर्ष निकाल्दै पार्टी एकताको निर्णय गरेको सो पार्टीले जनाएको छ ।
पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले चुनौतीपूर्ण परिस्थितिमा कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक अपिल गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार १० बुँदे निर्णयमा सो पार्टीले विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग पार्टी एकताका लागि पहल गर्ने समेत उल्लेख छ ।
एकीकृत समाजवादीले निर्णयमा भनेको छ- ‘पार्टीले अँगालेका नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरूसँग पार्टी एकता गर्न र अन्य पार्टी र समूहहरूसँग वर्तमान सन्दर्भमा सहकार्य गर्न हाम्रो पार्टीको तर्फबाट पहलकदमी अघि बढाउने निर्णयसमेत गर्दछ ।’
एकीकृत समाजवादीले २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएकाले सो मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सुनिश्चित गर्न सरकार, राजनीतिक दलहरू, नागरिक समाज एवं सम्बन्धित सबैमा हार्दिक आह्वान गरेको छ । विगतका कामको समग्र समीक्षा गरेर निष्कर्ष निकाल्न र गल्ती कमीकमजोरीहरू सच्याउँदै व्यापक सुधारको प्रक्रियाका साथ राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, जनताको हित तथा मुलुकको समृद्धिको पक्षमा अझ दृढतापूर्वक अगाडि बढ्ने एकीकृत समाजवादीले प्रतिबद्धता व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS