काठमाडौं । नियोफिन हायर पर्चेज प्रा.लि. नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी तीन वर्षका लागि अफिसियल प्लाटिनम क्याप स्पोन्सर बनेको छ ।
नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र टीसीएम स्पोर्टस मार्केटिङ प्रा.लि.बीच त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौताअनुसार एनपीएलको प्रत्येक सिजनमा सर्वाधिक रन बनाउने ब्याटरलाई नगद पुरस्कारसहित नियोफिनको लोगो अंकित क्याप प्रदान गरिनेछ । कम्पनीले उक्त उपलब्धि हासिल गर्ने खेलाडीलाई दुई लाख रुपैयाँ नगद पुरस्कार दिने जनाएको छ ।
एनपीएलको तेस्रो सिजनको टी– २० क्रिकेट प्रतियोगिता भोलिदेखि २९ नोभेम्बरसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुँदै छ ।
सम्झौताबारे प्रतिक्रिया दिँदै नियोफिन हायर पर्चेज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद तिम्सिनाले नेपालमा क्रिकेट सबै उमेर समूहका मानिसबीच लोकप्रिय खेलका रूपमा स्थापित भइसकेको बताए । नेपाल प्रिमियर लिगजस्तो प्रतिष्ठित प्रतियोगितासँग साझेदारी गर्न पाउँदा गौरवान्वित भएको उल्लेख गर्दै उनले सर्वाधिक रन बनाउने ब्याटरलाई प्रदान गरिने नियोफिन क्याप उत्कृष्टता, निरन्तरता र लगनशीलताको प्रतीक हुने बताए ।

उनका अनुसार यस साझेदारीले खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाउनेछ ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र टीसीएम स्पोर्टस मार्केटिङ प्रा.लि.ले पनि यस साझेदारीले प्रतियोगिताको स्तरवृद्धि तथा नेपाली क्रिकेटको प्रवद्र्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

नियोफिन हायर पर्चेज प्रा.लि. नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त हायर पर्चेज कारोबार गर्ने गैरबैंकिङ वित्तीय संस्था हो । केडिया अर्गनाइजेसनअन्तर्गत सञ्चालित कम्पनी यसअघि बतास हायर पर्चेज प्रा.लि.का नामबाट सञ्चालनमा थियो । नयाँ ब्रान्ड पहिचानसहित नियोफिनका रूपमा सेवा विस्तार गरेको कम्पनीले काठमाडौं र पोखरास्थित शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।