काठमाडौं । भारतीय संसदको नयाँ भवन उद्घाटन क्रममा देखिएको मुरल नक्सामा नेपालको कपिल्वस्तु र लुम्बिनीपनि देखिएको छ ।
भारतका भाजपा सांसद मनोज कोडाकले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको तस्बिरमा कपिल्वस्तु र लुम्बिनीपनि समावेश भएको देख्न सकिन्छ ।
यो मुरलको माथिल्लो भागमा नेपालका कपिलवस्तु, लुम्बिनीजस्ता ठाउँहरु स्पष्ट समावेश गरिएको देख्न सकिन्छ ।
यो तस्वीरमा ट्वीट गर्दै उनले लेखेका छन्, ‘नयाँ संसदमा अखण्ड भारत । यसले हाम्रो शक्तिशाली र स्वनिर्भर भारतको प्रकटीकरण गर्छ । धन्यवाद प्रधानमन्त्री मोदी । मेरो संसद, मेरो गौरव ।’
पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदजस्तो संवेदनशील ठाउँमा नेपालका भूभागहरु समेटेर मुरल बनाइनु आपत्तिजनक भएको टिप्पणी गरे । ‘इतिहासमा कहिल्यै पराधीन नभएको नेपालका भुभागहरुलाई राखेर भारतले संसदमा नक्सा बनाउँदा यहाँको सरकारले तुरुन्तै प्रष्ट जानकारी लिनुपर्छ । आपत्ति जनाउनुपर्छ,’ उनले भने ।
उच्च तहका सरकारी प्रतिनिधिसँग यसबारे कुरा गर्न खोज्दा उनले विस्तृतमा बुझेर मात्रै टिप्पणी गर्ने बताए । उनले छोटो प्रतिक्रिया दिँदै भने, ‘यदि यो खबर सत्य हो भने हामीले गम्भीर हुनुपर्छ ।’
सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्री प्रचण्डको दुई दिनपछि हुने नयाँ दिल्ली भ्रमणको मुखमा आएको यस्तो खबरले यात्रा नै खल्लो बनाउन सक्छ । आसन्न भ्रमणमा ठूला नीतिगत छलफलहरुमै सरकारी पक्ष बढ्ता केन्द्रित हुने भए पनि दुईदेशीय सम्बन्धतामा तिक्तता ल्याउने सबैखाले गतिविधि रोकिनुपर्ने जानकारहरु बताउँछन् ।
FACEBOOK COMMENTS