काठमाडौं । एसिया कप खेल्ने नेपालको सपना आज (भदौ १३ गते) साकार हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपाली टोलीले एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
पाकिस्तानको मुल्तानमा अपरान्ह ३ बजे एसिया कपको उद्घाटन खेल हुँदैछ । पाकिस्तान हाल आइसिसी वरीयताको नम्बर एक टिम हो । भर्खरै अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिज ३–० ले क्लिनस्विप गरेपछि पाकिस्तान विश्वको नम्बर एक टिम बनेको थियो ।
पाकिस्तानी टिममा विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबर अजाम छन् । पाकिस्तानका कप्तानसमेत रहेका बाबरविरुद्ध नेपाली बलरले बलिङ गर्नू चुनौतीपूर्ण हुनेछ । यस्तै वरीयताको तेस्रो नम्बरमा रहेका इमाम उल हक र पाँचौ नम्बरमा रहेका फखर जमान पनि पाकिस्तानका मुख्य ब्याटर हुन् ।
बलिङमा पाकिस्तानका साहीन शाह अफ्रिदी लयमा छन् । उनको तीव्र गतिको बलिङको सामना गर्न नेपाली ब्याट्सम्यानका लागि कठिन हुनेछ । अफ्रिदी विश्व वरीयतामा नवौं स्थानमा छन् । क्रिकेटका दुई महारथी भारत र पाकिस्तानसँगै नेपाल समूह ‘ए’मा छ । दुवै एकदिवसीय क्रिकेटका पूर्वविश्वकप विजेता हुन् ।
रोहित पौडेलको कप्तानीमा नेपाली टोलीले पाकिस्तान र भारतका ख्यातिप्राप्त ब्याट्सम्यान र बलरलाई चुनौती दिने नेपाली क्रिकेटप्रेमीको अपेक्षा छ । एकदिवसीय, टी–२० र च्याम्पियन्स ट्रफीका विजेता भइसकेका भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्न पाउनु नेपाली खेलाडीका लागि एक अवसर पनि हो ।
पाकिस्तान र भारतजस्ता क्रिकेट महारथी राष्ट्रहरुसँगको प्रतिस्पर्धाले नेपाली टोलीमाथि संसारभरिका क्रिकेटप्रेमीको नजर पर्नेछ ।प्रतियोगिताका लागि नेपाली खेलाडीले डेढ महिनादेखि तयारी गरेका छन् । श्रीलंकाको कोलम्बोमा १५ दिन र पाकिस्तानको कराँचीमा चार दिनको प्रशिक्षण गरेका थिए ।
१० टिम सहभागी भएको एसिसी प्रिमियर कप जितेको नेपाली टिम एसोसिएट राष्ट्रमा बलियो टिम हो ।
FACEBOOK COMMENTS