काठमाडौँ । नेपालको राष्ट्रिय फुटबल टोलीले आगामी फिफा विश्वकप फुटबलका लागि बिहीबार लाओससँग प्रारम्भिक चरणको छनोट खेल खेल्दैछ । यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक र कप्तान दुबैले बताएका छन् ।
नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले यो खेल आफ्ना लागि पनि अवसर भएको बताए । उनले अघि भने, ‘यो मरो पनि पहिलो विश्वकप छनोट हो । मैले आफ्नो तर्फबाट शत प्रतिशत दिने प्रयास गरेको छु ।’
टिममा रहेका नयाँ र उर्जावान युवाहरुले आफ्नो शैलीमा धेरै हदसम्म निपूर्ण भइसकेको भन्दै उनले भने, ‘यो मेरो पहिलो विश्वकप छनोट खेल हो । त्यसैले यो हामी सबैका लागि निकै ठुलो प्रतियोगिता हो । लाओसविरुद्धको खेलका लागि हामी तयार छौँ । अहिले धेरै भन्न चाहन्न, भोलि देखाउँछु ।’
उक्त खेलबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरणकुमार लिम्बु -चेम्जोङ_ सधैँभन्दा फरक तरिकाले प्रस्तुत भए । उनले अधिकांश समय नेपाली फुटबलका समर्थकलाई सम्बोधन गर्दै आफ्नो धारणा राखे ।
‘दशरथ रंगशाला मेरो लागि संसारकै सबैभन्दा उत्कृष्ट रंगशाला हो । विश्वको अन्य कुनै रंगशालासँग यसको तुलना हुन सक्दैन । म चाहन्छु, नेपालले खेल्ने हरेक खेल घरेलु रंगशालामै आयोजना होस् । तर, त्यो सम्भव छैन भन्ने कुरा पनि मैले बुझेको छु । दशरथ रंगशालामा खेल्दा मैले हजारौँ समर्थकको साथ पाउँछु । एउटा खेलाडीको मनोबल बढाउन समर्थकको निकै ठुलो भूमिका हुन्छ,’ उनले भने ।
उनले लाओसविरुद्ध बिहीबार हुने खेलमा पनि नेपाली खेलाडीको हौसला बढाउन बढीभन्दा बढी समर्थकलाई उपस्थित हुन आग्रह गरे । ‘सञ्चारकर्मी साथीहरूमार्फत म नेपाली फुटबललाई माया गर्ने समर्थकलाई भोलीको खेलमा हाम्रो हौसला बढाउन रंगशालामा आइदिन अनुरोध गर्छु । हाम्रो सबैभन्दा ठुलो शक्ति भनेकै तपाईँहरू नै हुनुहुन्छ । हामी खेलाडी चाहन्छौँ, भोलीको खेलमा रंगशालामा समर्थकको ओइरो लागोस्,’ समर्थककै विषयमा बोल्न अधिकांश समय खर्चिएका नेपाली टोलीका कप्तानले भने ।
उनले लाओसविरुद्धको खेलमा राष्ट्रिय गान बज्दा सबै समर्थकलाई खेलाडीसँगै राष्ट्रिय गान गाउन पनि आग्रह गरे । उनले भने, ‘खेलअघि हामी सँगै मिलेर राष्ट्रिय गान गाऔँ । खेलको अन्तिम समयसम्म पनि रातो र चन्द्र सूर्यको धुनमा रंगशाला गुन्जिरहोस् । रंगशालामा घन्कने समर्थकहरूको आवाज नै हामी खेलाडीको ऊर्जाको स्रोत हो । ’
उनले लाओसविरुद्ध मैदानमा ओर्लन आफ्नो टोली तयार रहेको पनि बताए । ‘विश्वकप छनोट खेलका लागि हामीले गतिलो तयारी गरेका छौँ । टोलीमा राम्रो तालमेल छ । प्रशिक्षक र खेलाडीबिचको तालमेल पनि गतिलो छ,’ उनले भने, ‘तर, हाम्रो प्रतिद्वन्द्वी पनि कमजोर भने छैन । उनीहरू पनि विश्वकप छनोटमा हामीलाई हराउँदै अगाडि बढ्न चाहन्छन् ।’
नेपाली टिम ः
गोलकिपर ः किरणकुमार लिम्बू ९कप्तान०, दीप कार्की, अभिषेक बराल
रक्षक ः सनिष श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक बिष्ट
मिडफिल्डर ः सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, क्रितिशरत्न छुन्जु, मनिष डांगी
फरवार्ड ः अञ्जन बिष्ट, आयुष घलान, जिलेस्पीजंग कार्की, दीनेश हेञ्जन, हिसुब थपलिया, सञ्जिव बिष्ट
FACEBOOK COMMENTS