काठमाडौं । नेपाल वायुसेवा निगमले वित्तीय ऋण व्यवस्थापन निम्ति ऋण दिने संस्थाको खोजी गरेको छ । हाल निगमको सम्पत्ति सात अर्ब ऋणात्मक छ । यसअघिकै विमान खरिद गर्दा लिएको ऋण ४८ अर्ब रुपैयाँ पुगेको छ । उक्त ऋण तिर्न निगमले ऋण दाताको खोजी गरेको हो ।
निगमले सार्वजनिक सूचना निकालेर एक खर्ब ३५ अर्ब रुपैयाँ ऋण दिन सक्ने संस्थालाई आह्वान गरेको छ । प्राप्त ऋणबाट ५५ अर्ब पहिलेको ऋण व्यवस्थापनमा, ७५ अर्ब नयाँ जहाज खरिदमा र पाँच अर्ब ह्यांगर बनाउन प्रयोग गर्ने निगमले उल्लेख गरेको छ ।
निगमले एयरबस ३२० र एयरबस ३०० जहाजहरु खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको व्याजदर भन्दा कम ब्याजदरमा ऋण दिने वित्तीय संस्था खोजी गरेको हो । पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग समन्वय गरी ऋण प्राप्तिका लागि आह्वान गरेको निगमले जनाएको छ ।
निगमले ‘सहुलियत ऋण’ लिन अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा २०८० जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल सरकारसमक्ष पेश गर्ने निर्णय गरेको थियो । त्यहीअनुरुप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग आवश्यक समन्वय गरेर निगमले जनाएको छ ।
निर्देशन प्राप्त भएपछि माघ ४ को निगम सञ्चालक समितिले १ खर्ब ३५ अर्ब सहुलियत ऋण प्राप्तिका निम्ति माघ ९ गते वित्तीय संस्था आह्वान गरेको हो । निगमका अनुसार, उक्त सहुलियतपूर्ण ऋण एकै पटक नभई निगमको व्यवसायिक लगानीको आवश्यकता अनुसार पटक–पटक लिइने छ ।
यसरी ऋण प्राप्त भएपछि हाल निगमले वार्षिक रुपमा तिर्दै आएको करीब साढ़े तीन अर्व व्याज खर्चमा उल्लेख्य कटौती हुन निगमले बताएको छ । जसले गर्दा निगमको नाफा वृद्धि हुने अपेक्षाका साथ आशयपत्र आह्वान निगमले जनाएको हो ।
FACEBOOK COMMENTS