काठमाडौं । नेपालको सबैभन्दा पहिलो बैंक नेपाल बैंकले नेपाल प्रहरीको सङ्गठनलाई ३० लाख रूपैयाँ दिएको छ ।
बैंकका प्रमुख वित्त अधिकारी (सीएफओ) प्रकाश कुमार अधिकारीले नक्सालस्थित नेपाल प्रहरीको प्रधान कार्यालयमै पुगेर हिजो शुक्रबार ३० लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् । प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकाललाई सो रकम बराबरको चेक हस्तान्तरण गर्दै सीएफओ अधिकारीले ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ स्थापनासम्बन्धी विशेष सम्झौतापत्रमा हस्ताक्षर समेत गरेका छन् ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच सो सम्झौता भएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततीलाई छात्रवृत्ति प्रदान गर्ने सम्झौताका लागि नेपाल बैंकलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने विश्वास व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कुँवरले सम्झौता दुई निकायको सम्बन्धमा कोसेढुंगाको रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै छात्रवृत्तिले नेपाल पुलिस स्कूलहरूमा अध्ययनरत बालबालिकालाई सवल र सक्षम बनाई देशको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने बताउँदै यसबाट अहोरात्र खटिने प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न थप हौसला प्रदान गर्ने विचार व्यक्त गरे ।
सो अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले नेपाल प्रहरीले आम नागरिकलाई सेवा प्रदान गर्न पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीका सन्ततीलाई सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टी प्राप्त भएको बताए । साथै, उनले आगामी दिनमा समेत थप सहकार्य र समन्वय हुने विश्वास व्यक्त गरेका छन् ।
सम्झौताअनुसार छात्रवृत्ति प्रदान गर्नका लागि नेपाल बैंकले ३० लाख रूपैयाँ उपलब्ध गराई प्रहरी कल्याण कोषको नाममा ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति अक्षय कोष’ स्थापना हुनेछ । खाता सञ्चालन तथा व्यवस्थापन कल्याण महाशाखाले गर्नेछ ।
अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानीबाट छात्रवृत्ति रकम निर्धारण गरी नेपाल प्रहरीका ९ वटा स्कुलहरूमा कक्षा ४ देखि १० सम्ममा अध्ययनरत विदा वा व्यक्तिगत कामको सिलसिलामा मृत्यु भएका प्रहरी कर्मचारीका सन्ततिलाई विपन्नताको आधारमा र यस बमोजिमका सन्ततिहरू नभएमा अमर/शहिद/अशक्त प्रहरी कर्मचारीका सन्ततिलाई, सो पनि नभएमा बहालवाला एवम् पूर्वप्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका प्रहरी कर्मचारीका सन्ततिलाई उत्प्रेरणा स्वरूप प्रतिस्कूल एक जनाको दरले छात्रवृत्ति उपलब्ध गराइने लगायतका विषय सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
सम्झौता शैक्षिक सत्र २०८१ देखि लागू हुने छ ।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाल बैंक लिमिटेडका प्रतिनिधिहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।
FACEBOOK COMMENTS