काठमाडौं । नेपाल बार एसोसिएशनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि स्वतन्त्र कानुन व्यवसायी सङ्गठनका तर्फबाट अधिवक्ता पृथ्वीनाथ राईको नेतृत्वमा चुनावी प्यानल घोषणा गरिएको छ ।
मङ्गलबार एक कार्यक्रमको आयोजना गरी सङ्गठनले प्यानल घोषणा गरेको हो । सोही अवसरमा उक्त प्यानलका उम्मेदवारहरू र मतदाताहरूबीच परिचयात्मक कार्यक्रम समेत सम्पन्न अधिवक्ता आकृति रायमाझीले जानकारी दिइन् ।
उनका अनुसार कार्यक्रममा वरिष्ठ अधिवक्ताहरू, अधिवक्ता, पत्रकारहरू र नागरिक समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति थियो ।
राई अध्यक्ष पदको उम्मेदवार रहेको उक्त समूहबाट अधिवक्ता गणेश गिरी केन्द्रीय उपाध्यक्ष (बागमती प्रदेश), अधिवक्ता शान्ता पन्त भट्ट केन्द्रीय उपाध्यक्ष (महिला) र अधिवक्ता त्रिलोकबहादुर चन्द केन्द्रीय महासचिवको उम्मेदवार छन् । त्यस्तै अधिवक्ता गोविन्दराज उपाध्याय केन्द्रीय कोषाध्यक्षको उम्मेदवार छन् ।
यसैगरी खुला केन्द्रीय समिति सदस्यहरूमा अधिवक्ताहरू टीकाविक्रम हमाल, होमचन्द्र श्रेष्ठ, रुद्रप्रसाद पाठक, तर्कराज भट्ट, नानीबाबु खत्री र उमेश दाहाल छन् ।
सो समूहले ‘मर्यादित बार, युवा नेतृत्वको साथ’ नारा दिएर निर्वाचनको प्रचार–प्रसार कार्यलाई तीव्रता दिएको छ । उम्मेदवार परिचयका क्रममा समूहले आफ्नो प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ । कानुनी क्षेत्रको मर्यादा उच्च बनाउँदै युवा नेतृत्व स्थापित गर्ने अभियानमा लागेको सो समूहले मतदानका साथै आवश्यक सहयोगका लागि अपिल समेत गरेको छ ।
FACEBOOK COMMENTS