काठमाडौँ । श्रीलङ्कामा भएको पुरुष साफ यु–१७ च्याम्पियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स मैदानमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । जितसँगै नेपाल समूह ‘बी’ को विजेता बन्यो भने भारत पनि उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो ।
समूह ‘बी’ मा नै रहेको भुटान भने अङ्कविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि भारतले पनि भुटानलाई पराजित गरेको थियो । नेपालको जितमा सरोज दर्लामी, उनेश बूढाथोकी र सुवास बमले समान १/१ गोल गरे । खेलमा सुरुआती अग्रता भने भारतले लिएको थियो । खेलको २५औँ मिनेटमा भारतका ड्यानी मेइटीले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाएका थिए ।
भारतको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ४५ औँ मिनेटमा नेपालका सरोजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हापसम्म १–१ गोलको बरबरीमा खेलेको नेपालले खेलको दोस्रो हाफमा दुई गोल थप्यो ।
खेलको ४९ औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई दोस्रो अग्रता दिलाए । यसैगरी खेलको ६८ औँ मिनेटमा नेपालका अर्का खेलाडी सुवासले एक गर्दै नेपाललाई ३–१ गोलको जित दिलाए ।
यस जितसँगै नेपालले शीर्ष ६ अङ्क जोडेको छ । नेपालले पहिलो खेलमा भुटानलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित भारत, भुटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेश गरी छ राष्ट्र सहभागी छन् ।
FACEBOOK COMMENTS