![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघसँग आबद्ध रहेको नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका उपाध्यक्ष नवल किशोर चौधरीले विभिन्न ब्राण्डका चुरोटमा बिक्री मूल्यको ७१ प्रतिशतसम्म करको भार रहेको बताएका छन् ।
पछिल्लो केही दिनयता विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भइरहेका विज्ञापन र समाचारहरूमा गलत तथ्य समावेश गरिएको र त्यसले नेपाली औद्योगिक उत्पादनलाई निरुत्साहित गरेको भन्दै उनले विभिन्न कम्पनीका विभिन्न ब्राण्डका चुरोटमा बिक्री मूल्यको ७१ प्रतिशतसम्म कर लाग्ने गरेको बताएका हुन् ।
हिजो शुक्रबार संघको तर्फबाट विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘चुरोटमा करको भार ३३ प्रतिशत मात्र छ भन्ने जस्ता तथ्यहीन एवम् भ्रामक सूचनाबाट नीति निर्माणलाई प्रभावित पार्न खोज्नु यी उद्योगहरूले पुर्याएको योगदानलाई नजरन्दाज गर्नु मात्र नभइ स्वदेशी औद्योगिक उत्पादनलाई निरुत्साहन गर्नु, आयातित एवम् गैर कानुनी वस्तुहरूलाई प्रोत्साहन गर्नु, निहित स्वार्थका लागि राज्यलाई गुमराहमा पार्न खोज्नु हो ।’
उपाध्यक्ष चौधरीले पछिल्लो समय नेपालमा गैरकानुनी चुरोट र सुर्तीजन्य पदार्थका कारण स्वदेशी उत्पादनको बिक्रीमा ह्रास आइरहेको तथा आगामी आर्थिक वर्षको बजेट समेत तर्जुमा भइरहेको बेलामा गलत ढंगबाट विज्ञापन तथा समाचारहरू प्रकाशित हुनु दुःखद भएको बताए । ‘विभिन्न कारणले नेपालमा चुरोटको बजार अवस्था ह्रासमुख रहेको, गैरकानुनी चुरोट र सुर्तीजन्य पदार्थको व्यापार बढिरहेको अवस्था तथा वार्षिक बजेट तर्जुमा भइरहेको समयमा गलत र भ्रमपूर्ण रूपमा करको दरको अवस्थाबारे विभिन्न पत्रपत्रिकामार्फत विज्ञापन सम्प्रेषण गर्नु असोभनीय छ,’ उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘यस्तो अपुष्ट समाचार प्रकाशित गरी जनमानसलाई दिग्भ्रमित पार्ने कार्य कहीँकतैबाट नगरिदिनुहुन यस संघ सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ ।’
सरकारले बजारमा आएका हल्ला नसुनी मिथ्याङ्कका आधारमा नभएर वास्तविक तथ्याङ्ककै आधारमा नीतिनिर्माण गर्ने र यस्ता मिथ्याङ्कबाट प्रभावित नहुनेमा आफूहरू विस्वस्त रहेको पनि उनले विज्ञप्तिमार्फत स्पष्ट गरेका छन् ।
‘स्वदेशी उत्पादनवाट नै राष्ट्रिय माग पूरा गर्न सक्ने अवस्थामा रहेको चुरोट उद्योगबाट हाल नेपालमा विभिन्न किसिमका चुरोटहरू उत्पादन हुने गरेका छन् । नेपाल सरकारको कुल राजस्वमा सुर्तीजन्य उद्योगको ४% भन्दा बढी योगदान छ । तर बिगत केही महिनादेखि सरकारको राजस्व नीतिमा प्रभाव पार्ने उद्देश्यले प्रायोजित रूपमा विज्ञापनमार्फत गलत तथ्याङ्क प्रकाशन गरी भ्रमपूर्ण रूपमा प्रस्तुत भइरहेकोतर्फ संघको ध्यान आकृष्ट भएको छ,’ उपाध्यक्ष चौधरीले विज्ञप्तिमार्फत भनेका छन्, ‘नेपालमा बिक्री हुने विभिन्न लम्बाइका चुरोटमा अन्तःशुल्क, स्वास्थ्य जोखिम कर, अन्तःशुल्क स्टिकर शुल्क, मूल्य अभिवृद्धि कर, कच्चा पदार्थको आयातमा भन्सार शुल्क लगायतका करहरू सङ्कलन गरिन्छ । विभिन्न कम्पनीका विभिन्न ब्राण्डका चुरोटमा बिक्री मूल्यको ७१% प्रतिशतसम्म कर लाग्ने गरेको कुरा स्पष्ट छ ।’
FACEBOOK COMMENTS