काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एसीसी) ले लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठलाई ‘ईश्वरलाल लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ ।
७५औँ वार्षिक साधारण सभाका अवसरमा आज शुक्रबार होटेल सोल्टीमा आयोजित भव्य समारोहमार्फत चेम्बरले श्रेष्ठलाई प्रतिष्ठित अवार्डबाट सम्मान गरेको हो । श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सो सम्मान प्रदान गरे ।
विभिन्न आर्थिक चुनौतीलगायत विभिन्न आरोह–अवरोह झेल्दै नेपालको निजी क्षेत्रको विकासमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै श्रेष्ठलाई यो उच्च सम्मान प्रदान गरिएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले जानकारी दिए ।
उनका अनुसार महत्वपूर्ण व्यक्तित्वलाई उच्च सम्मान दिने परम्परा ‘ईश्वरलाल लाइफटाइम अचिभमेन्ट अवार्ड’ बोकेको छ । उक्त सम्मानबाट गणेश बहादुर श्रेष्ठलाई सम्मानित गरिनुले नेपालको उद्योग–व्यवसाय क्षेत्रमा उनको योगदानको उच्च कदर र सम्मान भएको उनको भनाइ छ ।
‘ईश्वरलाल लाइफटाइम अचिभमेन्ट अवार्ड’ नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष स्व. ईश्वरलाल श्रेष्ठको सम्झनामा स्थापना गरिएको हो । स्व. श्रेष्ठ २०५० देखि २०५२ सम्म नेपाल चेम्बर अफ कमर्सको अध्यक्ष थिए । २०१९ सालमा चेम्बरमा कार्यकारिणी सदस्य बनेका उनी सचिव, कोषाध्यक्ष, महासचिव र उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए ।

गणेश बहादुर श्रेष्ठबारे

वि.स. २००३ सालमा बुबा दिलबहादुर श्रेष्ठ र आमा पुतलीदेवी श्रेष्ठको कान्छो छोराका रूपमा पोखराको बागबजारमा जन्मिएका गणेश बहादुर श्रेष्ठ हाल प्रतिष्ठित व्यावसायिक समूह ‘लक्ष्मी ग्रुपका अध्यक्ष छन् । पोखराकै मल्टिपल नेशनल हाइस्कुलबाट विद्यालय शिक्षा हासिल गरेका उनले आफ्नो परिवारको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्न पाएनन् । तर, नेपालको औद्योगिक विकासमा महत्वपूर्ण योगदान दिन भने सफल बने ।

अध्ययन रोकिएपछि जीविकोपार्जनका लागि उनले किराना पसल र फोटोग्राफीलगायत विभिन्न काम गरे । त्यसबाट पनि सन्तुष्ट नभएका उनले वि.स. २०२१ सालमा पोखराकै पीएन क्याम्पसमा टाइपिस्टका रुपमा काम गरे भने २०२३ सालमा तत्कालीन भूमि सुधारमा खरदारको रुपमा तीन वर्ष पाल्पामा रही काम गरे ।
नोकरीमा पनि सन्तुष्ट बन्न नसकेका श्रेष्ठले स्वरोजगार बन्ने उद्देश्य बोकेर २०३६ सालमा आफ्नो पुख्र्यौली पेसा पुष्टकारी बनाउने काम अँगाले । बुबा र बाजेले सामान्य ढङ्गबाट गर्दै आएको सो पेसालाई उनले व्यवस्थित गरी ‘मास प्रडक्ट’तिर लगे । २०३० सालमा बुटलमा ‘लक्ष्मी मिठाइ भण्डार’ नामाकरण गरी पुष्टकारी र चकलेटहरूको उत्पादन सुरू गरे । त्यसअघि नै बुटवलमा चकलेट बनाएर असफल भएका व्यक्तिहरूले दिएको साधारण उपकरणमार्फत लक्ष्मी मिठाइ भण्डारलाई त्यहाँको औद्योगिक क्षेत्रभित्र स्थानान्तरण गरे ।
चकलेट बनाउन सुरू गर्दा अधिकांशले उनलाई पत्याएका थिएनन् । तर, कठोर सङ्कल्प, दिनरातको खटाइ र निरन्तरको मेहनतका कारण अन्तत: सफल भएरै छोडे । त्यतिमात्र होइन अहिले नेपाली चकलेटको बजारमा ६० प्रतिशत हिस्सा लक्ष्मी ग्रुपअन्तर्गतको कम्पनीले ओगट्दै आएको छ । तत्कालीन समयमा खासा हुँदै चीनसम्म आफ्नो उत्पादन निर्यात गरेको स्मरण गर्दै कामलाई कहिल्यै सानो ठान्न नहुने उनी बताउँछन् । विभिन्न उतारचढावसँगै व्यापार विविधिकरण गर्दै अघि बढेका श्रेष्ठ प्लाष्टिक र डेरीको व्यापार हुँदै हुण्डाइको गाडी बेच्नेदेखि एसेम्बलिङ गर्नेलगायत थुप्रै उद्योगहरू लक्ष्मी ग्रुपको छातामुनी स्थापित गर्न सफल भएका छन् ।
पछिल्लो समय लक्ष्मी ग्रुपअन्तर्गतका अधिकांश कामहरू आफ्ना छोराहरू अञ्जन श्रेष्ठसहितलाई सुम्पिइ उनी सामाजिक काममा मात्रै क्रियाशील रहँदै आएका छन् । पोखराको विन्दबासिनी मन्दिर व्यवस्थापनका लागि बनेको ‘विन्दवासिनी धार्मिक क्षेत्र विकास कोष’मा २२ वर्ष कोषाध्यक्ष र १५ वर्षदेखि अध्यक्षका रूपमा रहेका उनले मन्दिरको आम्दानीबाट नि:शुल्क स्कुल र अस्पताल सञ्चालन गर्दै आएका छन् । राज्यले जान्ने हो भने पुजारी नहटाइकनै त्यहाँको आम्दानीबाट विश्वविद्यालय र राम्रा अस्पतालहरू चलाउन सकिने उनी बताउँछन् । विन्दवासिनीको आम्दानीबाट नि:शुल्करूपमा गुरुकुल विद्यापीठ सञ्चालनको तयारी र नेचुरल केयर हस्पिटल सञ्चालन भइरहेका छन् ।
राज्यले साँच्चै समृद्ध नेपालको नारा अघि सारेको हो भने त्यसलाई साकार पार्न ‘योङस्टार’हरूलाई उद्योग र व्यवसायसँग जोड्दै अघि बढाउनुपर्ने तथा राज्य सञ्चालनमा समेत ज्येष्ठ नागरिकलाई सम्मान दिएर युवालाई अघि सार्नुपर्ने विचार उनले पहिल्यैदेखि व्यक्त गर्दै आएका छन् ।
आफूले स्थापना गरेका उद्योग व्यवसायको जिम्मा आफ्नो छोराहरूलाई दिँदा थप मजबुत बनेको दृष्टान्त उनले दिए । इच्छाशक्ति र लगनशीलता हुँदा कुनै पनि काम गर्न पैसा नचाहिने र चुनौतीभित्र सफलता हुने भएकाले चुनौतीबिनाको काम नहुने उनी बताउँछन् । चुनौतीभित्र अवसर खोज्ने व्यक्ति कहिल्यै असफल नहुने भनाइ उनको छ ।
यो पनि पढ्नुहोस्–
शक्तिशाली सरकार आएपछि लगानीकर्ता उत्साहित छन् : अध्यक्ष अग्रवाल
मुलुकको आर्थिक विकासका लागि स्पष्ट कानुनी व्यवस्था आवश्यक : दीपक कुमार मल्होत्रा