चीन । नेपाल बीमा प्राधिकरण र चीनको सिचुवान प्रान्त अन्तर्गतको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनबीच आज छेङ्दुमा स्वास्थ्य बीमा सम्बन्धी उच्चस्तरीय छलफल सम्पन्न भएको छ।
छलफलमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा नेतृत्वको टोली र सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनका उपमहानिर्देशक झाङ हेफेङ नेतृत्वको टोलीबीच स्वास्थ्य बीमा प्रणाली, नीति तथा संरचना, र स्वास्थ्य सुरक्षासम्बन्धी विविध पक्षमा कुराकानी भएको थियो ।
कार्यक्रममा स्वास्थ्य बीमाको दिगोपन, भुक्तानी प्रणालीको सुधार, बीमाको रक्षावरण, निजी क्षेत्रको संलग्नता, नागरिकको पहुँचमा पारदर्शिता र डिजिटल प्रविधिको उपयोग लगायत विषयमा छलफल भयो ।
झाङ हेफेङले सिचुवान प्रान्तको स्वास्थ्य सुरक्षा प्रणाली तीन तहमा वर्गीकृत रहेको जानकारी दिँदै सरकारी योजनाले आधारभूत सेवादेखि गम्भीर उपचारसम्म समेट्ने बताए। साथै, फर्जी दाबी रोक्न कडा आन्तरिक नियन्त्रण र कारबाही प्रणाली कार्यान्वयन गरिएको जानकारी दिए ।
अध्यक्ष ओझाले नेपालमा स्वास्थ्य बीमा नीतिको तर्जुमा गर्दा सिचुवान प्रान्तको सफल अनुभवबाट सिक्न सकिने बताउँदै सहयोग र अनुभव आदान–प्रदानको अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, छेङ्दुस्थित महावाणिज्यदूत सुरेश राउत, र चीनका विभिन्न डिभिजनका उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS