काठमाडौं । नेपाल ई–बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज भएको छ ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहीबार सूचना जारी गर्दै अनुमतिपत्र खारेज गरेको हो ।
संस्थालाई राष्ट्र बैंकबाट वि.सं २०७७ फागुन १८ मा भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्न अनुमतिपत्र प्रदान गरिएको थियो । ‘भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५’ को दफा १३ (६) को व्यवस्था बमोजिम उक्त अनुमतिपत्र स्वत: रद्द भएको राष्ट्र बैंकले जनाएको छ ।
यससँगै, राष्ट्र बैंकले उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूलाई विशेष आग्रह गरेको छ । यदि संस्थासँग ग्राहकहरूको कुनै लेनदेन बाँकी रहेको भए, सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न सूचित गरिएको छ ।