काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको नाफामा गिरावट आएको छ ।
प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को कर अघिको नाफा ९ अर्ब ६ करोड ७० लाख भएको बताएका छन ।
आर्थिक बर्ष ०८०/८१ मा भएको नाफाको तुलनामा यो ३७।३२ प्रतिशत कम हो ।
आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणकोकर अघिको नाफा १३ अर्ब ३० करोड थियो ।
२०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटा बेहोरेको प्राधिकरण त्यसयता लगातार नाफामा रहेको छ । प्राधिकरणले निर्यात सहित विद्युत् बिक्रीबाट १ खर्ब २५ अर्ब २७ करोड ७० लाख आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८।४६ प्रतिशत बढी हो ।
अन्य स्रोतबाट प्राप्त आम्दानीसहित २०८१/८२ मा कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड र खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ भएको जानकारी दिइएको छ । प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले बढेर ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।
हाल प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित २०४ आयोजना मार्फत २९ सय २९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
त्यस्तै १४२ आयोजना ४३ सय ३ मेगावाट क्षमतासहित निर्माण चरणमा छन् । कुल ४२ सय ३ मेगावाट क्षमताका १४८ आयोजना विभिन्न चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ ।
२०८१/८२ मा मात्रै ३१ निजी प्रवद्र्धकसँग ९३२ मेगावाटका जलविद्युत् आयोजना र ८ प्रवद्र्धकसँग १७० मेगावाट क्षमताका सौर्य आयोजना खरिद सम्झौता भएको छ । अहिलेसम्म निजी प्रवद्र्धकसँग कुल ११ हजार ४३६ मेगावाट बराबरको विद्युत् खरिद सम्झौता पीपीए भइसकेको छ ।
FACEBOOK COMMENTS