काठमाडौं । नेपालले साफ यू–२० महिला फुटबल च्याम्पियनशिपअन्तर्गत आज श्रीलङ्काविरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेदेखि सुरू हुनेछ ।
बङ्गलादेशको ढाकास्थित बसुन्धारा किङ्स एरिनामा हुने यो खेलको प्रत्यक्ष प्रसारण Sportzworkz युट्युब च्यानलबाट हुने एन्फाले जानकारी दिएको छ ।
यसअघि सम्पन्न खेलमा नेपालले दुई खेलमा एक जित र एक हार बेहोरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।
त्यस्तै, श्रीलङ्काले भने आफ्ना सुरूका दुवै खेलमा हार बेहोरेको छ । श्रीलङ्का पहिलो खेलमा बङ्गलादेशसँग ९–१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग ५–० गोल अन्तरले पराजित भएको थियो ।
नेपालसहित बङ्गलादेश, श्रीलङ्का र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाइँदैछ । हरेक देशले एकअर्काविरुद्ध २–२ पटक खेलेपछि शीर्ष स्थानमा रहने देश विजेता हुनेछ ।
यस प्रतियोगितामा नेपालले अब अर्को खेल जुलाई १७ मा श्रीलङ्काविरुद्ध, जुलाई १९ मा भुटानविरुद्ध र जुलाई २१ मा बङ्गलादेशविरुद्ध खेल्ने तालिका छ । यसअघि खेलिएका चारै खेलमा बङ्गलादेश च्याम्पियन बनेको छ भने नेपाल सन् २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।
FACEBOOK COMMENTS