भाद्र २५ काठमाण्डौ । पपुवा न्युगिनीबिरुद्धको दुई खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत अन्तिम खेलमा नेपालले २३४ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो। नेपालका लागि रोहित पौडेलले ८६ र कप्तान ज्ञानेन्द्र मल्लले ४५ तथा करण केसीले ४२ रनको योगदान गरे। ९ रन जोड्दा दुवै प्रारम्भिक ब्याट्सम्यानलाई गुमाएको नेपालका लागि ज्ञानेन्द्र र रोहितबीच तेस्रो विकेटका लागि ८९ रनको साझेदारी बनेको थियो।
ज्ञानेन्द्र तेस्रो विकेटका रुपमा आउट भएपछि क्रिजमा आएका विनोद भण्डारीसँग रोहितले ४१ रनको साझेदारी गरे। विनोदले १७ रन जोडेका थिए।
नवौँ नम्बरमा ब्याटिङमा आएका करणले आक्रामक ब्याटिङ गर्दै २६ बलमा सात छक्का र दुई चौका प्रहार गरी करण र रोहितबीच सातौँ विकेटका लागि ६६ रनको साझेदारी भएको थियो। रोहितले १ सय २३ बलमा ३ छक्का र २ चौका प्रहार गरे। नेपालले अन्तिम ६ बलमा ४ विकेट गुमाएको थियो। रोहितले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रोपटक अर्धशतक बनाएका हुन्।

श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो। त्यस खेलमा रोहितले अविजित ४१ रन बनाएका थिए।
