काठमाडौं । जर्मन एसिया प्रशान्त व्यावसायिक सङ्घ र नेपाल–जर्मन उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा जर्मनीको ह्याम्बर्गमा लगानीलाई सुदृढीकरण गर्न एअरबस कार्यालयमा विशेष बैठक सम्पन्न भएको छ ।
जर्मन एसिया प्रशान्त व्यावसायिक सङ्घका प्रमुख अल्मुट रोबनेरले नेपाली व्यावसायिक प्रतिनिधिहरूलाई थप व्यापार साझेदारीलाई नवीन तरिकाले लानुपर्ने बताउँदै कार्यक्रममा स्वागत गरेका थिए ।
जर्मन एसियाका लागि दक्षिण एसिया क्षेत्रीय प्रबन्धक इनेस बुदारिकले नेपाल र जर्मनीबीच व्यापारिक कारोबार बढाउनुपर्नेमा जोड दिए ।
नेपाली राजदूतावास जर्मनीका राजदूत डा. सैल रूपाखेतीको प्रयासमा सम्पन्न कार्यक्रममा उनले दुई देशबीच व्यापार तथा लगानी बढाउनुपर्ने बताए । पर्यटन तथा अन्य क्षेत्रमा धेरै नै लगानीको सम्भावना भएकाले सन्तोषचन्द्र कुवँरको अध्यक्षमा सञ्चालित जर्मन उद्योग वाणिज्य सङ्घले धेरै भूमिका खेल्नुपर्ने बताए ।
उक्त बैठकमा नेपाल, जर्मन, चीन, भारत, पाकिस्तान र अन्य देशका गरी १५० भन्दा बढी व्यवसायी सहभागी थिए । कार्यक्रममा विभिन्न देशका बियरहरू राखिएको थियो, जसमा नेपालको बारसिंहे बियर उत्कृष्ट भएको थियो । बारासिंहे बियरको तर्फबाट जर्मनीस्थित मुस्कान श्रेष्ठ र रवि केसी उपस्थित भई बियरबारे सम्पूर्ण जानकारी गराएका थिए ।
त्यसैगरी, पर्यटन क्षेत्रबाट भोला थापा, ह्याम्बर्गमा रहेका दावा छिरिङ शेर्पा र बर्लिनका धेरै वर्ष पुराना व्यवसायी सञ्जय श्रेष्ठलगायत सहभागी व्यवसायीहरूले दुई देशबीच लगानीको उच्च सम्भावना भएको र यसलाई उपयोग गर्ने बताए ।
एअरबसका हेलिकोप्टर नेपालमा सगरमाथा बेस क्याम्पसम्म उड्न सफल भएकोमा जर्मन लगानीकर्ताहरूले हर्ष व्यक्त गरेका थिए । जर्मनबाट नेपालले हेलिकोप्टर आयात गरिरहेको छ । साथै, नेपाली इञ्जिनियरहरूले राम्रो काम गरिरहेको एअरबस अधिकारीहरूले बताएका छन् । तर, नेपालले अन्तर्राष्ट्रिय बोलपत्र गर्दा त्यसलाई झेलेर अगाडि बढ्न धेरै कठिनाइ भएको कुरा एनजीसीसीईका अध्यक्षसँग व्यक्त गरिएको छ । यसलाई सुधार्न सके दुई देशबीच आर्थिक गतिविधि झन् बढ्ने जर्मन लगानीकर्ताहरू बताउँछन् ।
FACEBOOK COMMENTS