वाशिङ्गटन । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले नेपालले संवैधानिक र कानूनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदरको न्यूनीकरण, औसत आयुमा वृद्धि गर्न सफलता हासिल गरेको बतायएको छ ।
मन्त्री यादवले सोमबारमा न्यूयोर्कमा आयोजित जनसङ्ख्या र विकासको ५७औँ सत्रलाई सम्बोधन गर्नुहुँदै उक्त धारण राखेको हो । मन्त्री यादवले भने, ‘हामीहरुले हरेक नागरिकलाई सम्मानपूर्वक जीवनयापन गर्न र उनीहरुको क्षमतालाई आत्मसात गर्न पाउने अवसर दिनुपर्छ ।’
मन्त्री यादवले जनसङ्ख्या र विकासको तीन दशक अगाडि कायरोमा आयोजना गरिएको र एक सय ७९ देशले स्वीकृत गरेका राष्ट्रसङ्घको जनसङ्ख्या तथा विकास निगमको कार्यक्रम लागू गर्न सदैव प्राथमिकता दिएको बताइएको छ ।
मन्त्री यादवले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्नका लागि भएका प्रयासमा अनेकन व्यवधान उत्पन्न भएकोमा चिन्ता व्यक्त गरे । मन्त्री यादवले भने, ‘नेपालले संविधानमा नै प्रजनन अधिकार, सुरक्षित मातृत्व, लैङ्गिक समानता, मानव अधिकार जस्ता मौलिक अधिकारलाई अङ्गीकार गरेको छ र नागरिकको जीवन स्तर उकास्नका लागि अनेकन नीतिगत व्यवस्थ्या, योजना तथा कार्यक्रम लागू गर्दै आएको छ ।’
नेपालमा युवा र योग्य जनशक्तिको आधारमा बलियो स्थानमा रहेको भन्दै उहाँले शिक्षा, स्वास्थ्य, प्रविधि, व्यवसाय, क्षमता अभिवृद्धिमा भने अझै ठूलो मात्राको लगानीको खाँचो रहेको बताए ।
मन्त्री यादवले नेपालले नयाँ जनसङ्ख्या नीति निकट भविष्यमा सार्वजनिक गर्ने बताउनुहुँदै नेपालले निःशुल्क, पहुँचसहितको सुरक्षित गर्भपतनलाई मानव अधिकार कै रुपमा अङ्गीकार गरेको उल्लेख गरे । मन्त्री यादवले जलवायु परिवर्तनले निम्त्याएको विपत्तिका कारण मानव जीवनमाथि सङ्कट आएकोमा चिन्ता व्यक्त गरे ।
मन्त्री यादव राष्ट्रसङ्घीय फोरममा सहभागी हुन न्यूयोर्क आउनुभएका छन् । मन्त्रीसँगै उक्त सम्मेलनमा राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादर थापा, मन्त्री यादवका भ्रमणदलका सदस्यलगायत सहभागी छन् ।
FACEBOOK COMMENTS