काठमाडौं । नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्रमा भारतले बलमिच्याइँका साथ सडक निर्माण गरिरहेको घटनाबारे नेपाल सरकारले अझै पनि आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन ।
तर, भारतले भने नेपाली मिडियामा आएको समाचारहरूकै आधारमा आफ्नो धारणा नेपाल सरकारलाई पठाइसकेको जानकारी दिएको छ । काठमाडौंस्थित भारतीय दूतावासले आज शनिबार एक वक्तव्य जारी गर्दै नेपाल–भारत सीमाबारे भारत सरकारको धारणा नेपाल सरकारलाई पठाइसकिएको उल्लेख गरेको हो ।
तर, यस विषयमा भारतको धारणा के हो भन्ने पूर्णरूपमा खुलाइएको छैन । यद्यपि, भारत सरकारले नेपालसँगको सीमानाका सम्बन्धमा आफ्नो धारणा सार्वजनिकरूपमा यथावत र स्पष्ट रहेको बताएको छ ।
भारत–नेपाल सीमा समस्याबारे हालै नेपालमा सार्वजनिक भएका समाचार एवम् वक्तव्यबारे भारतीय राजदूतावासले दुई मुलुकबीच स्थापित अन्तर सरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुने वक्तव्यमा उल्लेख गरेको छ । तर, सडक निर्माणको काम रोक्ने वा जारी राख्ने विषयमा दूतावासले केही खुलाएको छैन ।
दूतावासले जारी गरेको वक्तव्यमा भनिएकोछ, ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयलाई सधैँ हाम्रो निकट तथा मैत्री सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम्ले लिपुलेकमा सडक विस्तार गरिरहेको बताएपछि नेपालमा त्यसको तीव्र आलोचना भइरहेको छ । सत्तारुढ तथा प्रतिपक्षी दलहरुले भारतसँग कूटनीतिक संवाद गर्न र सडक विस्तार तत्काल रोक्न सरकारलाई आग्रह गरेका छन् । तर, सरकारले भने यसबारे केही बोलेको छैन ।
सरकारले आधिकारिक धारणा सार्वजनिक नगर्दै भारतले खुसुक्क सरकारलाई धारणा पठाएकाले वर्तमान सरकारमाथि थप आशंका उब्जाएको छ ।
FACEBOOK COMMENTS