काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवबीच दुई पक्षीय, क्षेत्रीय र बहुपक्षीय सहकार्य विषयमा समीक्षात्मक छलफल भएको छ । दुई देशका परराष्ट्र सचिवबीच बीबीआईएनमा केन्द्रित रहेर छलफल भएको छ ।
परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय समकक्षी विनयमोहन क्वात्राबीच दुईपक्षीय सहकार्यका साथै बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल)बीचको उपक्षेत्रीय सहकार्यमा छलफल भएको हो ।
‘बीबीआईएन उपक्षेत्रीय पहल’ भनिने सो मञ्चले सडक, हवाई र जलसम्पर्कका साथै विद्युत् व्यापार र आर्थिक क्षेत्रको सहकार्यमा जोड दिने बताइएको छ । बीबीआईएन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)भित्रको एक उपक्षेत्रीय सहकार्य हो ।
द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्र बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेतृत्वमा सात-सात जनाको टोली उपस्थित थियो । दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । ऊर्जामा सहयोग, व्यापार, पारवहन, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, कनेक्टिभिटी पूर्वाधारलगायत विषयमा छलफल भएको छ ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार दुई देशबीच लामो समयदेखि रहेको सीमा समस्या विषयमा भने चर्चै भएन । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र र सुस्ता विषयमा नेपालले पनि आफ्ना कुरा राख्न सकेन ।
भारतले २०७६ कात्तिकमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालले विरोध गर्दै कूटनीतिक वार्ताका लागि आग्रह गरेको थियो । तर, पटकपटकको आग्रह भारतले नमानेपछि नेपालले ७ जेठ २०७७ मा लिम्पियाधुरासम्मकै भूभाग समेटेर नयाँ नक्सा जारी ग¥यो । नक्सामा नेपाली भूभाग परे पनि भारतले नै प्रयोग गर्दै आएको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS